बुद्ध जन्मस्थलमा दिनहुँ आगोलागी

news
तस्वीरः नरेन्द्र मानन्धरको फेसबुकबाट ।

रुपन्देही, पुस २५ । बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगोलागी भएको छ ।

एक हप्तादेखि भइरहेको आगोलागीले लुम्बिनी विकास कोषको साढे ४०० विगाहा क्षेत्रफल जलेर नस्ट भएको छ ।

लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र भएको आगोलागीका कारण महत्वपूर्ण वनस्पति जलेर नस्ट भएका कोषका वनस्पति शाखा अधिकृत सब्बिर खानले जानकारी दिए ।

‘दिनहुँ आगोलागी भएको छ । विकास कोषसँग दमकल छैन । नगरपालिकाको दमकल बिग्रिएकाले आगोलागी नियन्त्रण गर्न गाह्रो भएको छ’–उनले भने–‘यसपालि आगोलागीले विकराल रुप लिँदा समस्या भयो ।’

आगो गएरातिबाट नियन्त्रणमा आएको उनले बताए ।

एक हप्तादेखि दिनहुँ आगोलागी भएपनि कसरी आगो लाग्यो भन्नेबारे थाहा हुन सकेको छैन ।

उनले भने–‘विकास कोष क्षेत्रमा चौबिसै घन्टा सुरक्षाकर्मी तैनाथ छन् । विकास कोषका सुरक्षागार्ड छन् । तर, आगो कसरी लाग्यो भन्नेबारे केही जानकारी भएन ।’

अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभागृह, शान्ति स्तुपा क्षेत्रदेखि थाइ विहार, जर्मनी विहार क्षेत्रसम्म आगो फैलिएको थियो ।

एक दिनमा तीनपटकसम्म आगोलागी हुने गरेको विकास कोषले जनाएको छ ।

पटक–पटक आगोलागी हुँदासमेत यसको कारण खोज्न नसक्नु विकास कोषको कमजोरी भएको स्थानीयवासी बताउँछन् ।

लुम्बिनीका पर्यटन व्यवसायी लीलामणि शर्माले आगोलागीको नैतिक जिम्मेवारी विकास कोषले लिनुपर्ने बताए ।

उनले भने–‘सशस्त्र, जनपथ, दंगा प्रहरी, कोषको सुरक्षागार्डको दस्ता हुँदाहुँदै दिनहुँ आगोलागी हुनु सुरक्षा लापरबाही हो ।’

आगोलागीका कारण विकास कोष क्षेत्रभित्रका पशुपक्षी कीट–पतंगहरु प्रभावित भएका छन् । आगोलागीका कारण सारसको बासस्थानसमेत जलेको छ । असुरक्षित महसुस गरेपछि सारस उडेर गएका स्थानीयवासीले बताएका छन् ।

सुरक्षा व्यवस्था चुस्त–दुरुस्त नबन्दा समस्या आएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले बताए ।

कोेषभित्रको आफ्नै कमजोरीका कारण पनि प्रत्येक वर्ष आगोलागी हुने गरेको उनले जानकारी दिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...