मकवानपुरमा लागुऔषध प्रयोगकर्ता पाँच हजार

news

हेटौंडा, पुस २६ । हेटौंडा–९ की कमला मिजार हेटौंडाको एक उद्योगमा कार्यरत छिन् । आफ्नो छोराको असाध्यै माया गर्ने उनले छोरालाई दैनिक एक/दुई सय खर्च दिने गर्थिन् ।

आवश्यकता हेरेर वा साथीको जन्मदिन आदिमा थप खर्च दिन कहिल्यै उनले कन्जुस्याइ गरिनन् ।

नौ कक्षा पढ्दै गरेको छोरा दिउँसो कहाँ जान्छ, के गर्छ त्यता उनले ध्यान नै दिन भ्याइनन् । आफू घर आउँदा छोरा घरमै पाउँदा कमला छोराप्रति झन् गद्गद् नै हुन्थिन् । बिस्तारै छोरो धेरै नै सुत्ने र उसको आँखा रातोरातो हुने गरेको देखेपछि भने कमलाको मनमा शंका उब्जियो र निगरानी गर्दा ऊ कुलतमा लागेको थाहापाएपछि भने छाँगाबाट खसेजस्तै भइन् ।

बारम्बार साथीको जन्मदिन भन्दै छोरो कहाँ जान्छ वा आफू अफिस गएको बेला छोरोले के गर्दोरहेछ भन्ने थाहा पाउन उनले धेरै नै कुर्नुपर्‍यो । 

छोरोले लागुऔषध सेवन गर्ने गरेको थाहा पाउनुअघि उनले अस्पतालमात्र होइन, ‘माता’ कहाँसमेत धाइन् । माताले छोरोलाई कसैले बिगार पारेको भनेर खरानी फुकेर खानदिए पनि रोग निको नभएकाले पछि आफन्तको सल्लाहमा सौजन डिसीसँग भेट गरिन् ।

डिसी पूर्व लागुपदार्थ प्रयोगकर्ता भएपनि अहिले उनी दुर्व्यसनविरुद्धको अभियानमा लागेका व्यक्ति हुन् । 

डिसीले कमलाको छोरालाई दुर्व्यसनबाट छुटकारा मात्र दिलाएनन्, मानव जीवनको महत्व पारिवारिक सम्बन्धबाट हुने फाइदाबारे पनि सिकाए । 

प्रशस्त पैसा भए पनि र आमाबाबुको ध्यान नपुग्दा छोराछोरी कुलतमा पनि सक्छन् भन्ने उदाहरण हो । कमला मिजारको सत्यकथा ।

जिल्ला लागुऔषध समन्वय समितिले लागुऔषधको प्रयोगको रोकथाम गर्न के गर्न सकिन्छ भन्ने विषयमा हेटौँडामा बुधबार आयोजित अन्तरक्रियामा बोल्दै कमला मिजारले आफूले भोगेका पीडा सुनाएकी हुन् । आमाले बोलिरहँदा छोरा विश्वास भने मुसुमुुसु हाँस्दै आमाको भिडियो खिच्दै थिए ।

जिल्ला लागुऔषध समन्वय समितिका संयोजक सन्दीप शाक्यका अनुसार मकवानपुरमा ७२० जनाले सुइमार्फत लागुऔषध प्रयोग गर्दै आएका छन् । अन्य विधिमार्फत लागुऔषध प्रयोग गर्नेको सङ्ख्या पाँच हजारभन्दा माथि छ । मकवानपुरमा ६ वटा पुनःस्थापना केन्द्र छन् । (रासस) 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...