‘जागिरबाट बर्खास्त हुन बरु तयार छु, समायोजनको फारम भर्दिनँ’

news

काठमाडौं, पुस २६ । कर्मचारी समायोजन अध्यादेशले शिक्षा सेवाका तल्लो तहका कर्मचारीलाईमात्र समायोजन गरेको भन्दै शिक्षा सेवाका कर्मचारीले गुनासो गरेका छन् ।

नेपाल निजामती कर्मचारी संगठन, शिक्षा विभागीय कार्यसमितिले बिहीबार शिक्षा मन्त्रालयमा कार्यक्रम गरी उपसचिव तहसम्ममात्र समायोजन गरेको भन्दै विरोध गरेका हुन् ।

उनीहरुले सहसचिव तथा सचिवहरुलाई पनि समायोजनमा ल्याउनुपर्ने माग गरेका छन् ।

नवलपरासीको देवचुली नगरपालिकामा सरुवा गरिएका ईश्वरी पोखरेलले समायोजन नमान्ने बताए ।

जागिरबाट बर्खास्त हुन बरु तयार रहेको तर समायोजनको फारम नभर्ने उनको भनाइ थियो ।

कार्यक्रममा धेरै कर्मचारीले आफूहरुलाई खटाइएको ठाउँमा काम गर्न जाँदा सो स्थानमा आफ्नो पदअनुसारको दरबन्दी नै नभएको भन्दै समान हैसियतका कर्मचारीको मातहतमा काम गर्नुपर्ने अवस्था रहेको बताए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले कुन सेवामा कुन–कुन पद कति रहन्छ भन्ने अझै नतोकिएको बताए ।

मन्त्रालयले छैटौं तहमा १८ जनालाईमात्र बढुवा गरेको तर त्यसका लागि ६१२ जना योग्य रहेकोसमेत कार्यक्रममा जानकारी दिइयो ।

शिक्षा मन्त्रालयले २४५ ओटा नगरपालिकामा उपसचिव पठाएको छ । तर, प्रशासन र प्राविधिक क्षेत्रका उपसचिवलाई पनि नगरपालिकामै पठाएका कारण समस्या उत्पन्न भएको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...