ज्ञवाली–स्वराज भेटवार्ता, संयुक्त आयोगको बैठक शीघ्र गर्ने सहमति

news

काठमाडौं, पुस २६ । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी सुष्मा स्वराजबीच बिहीबार भारतको बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।

रायसिना संवादको चौथो संस्करणमा भाग लिने सिलसिलामा भारत भ्रमणमा रहेका मन्त्री ज्ञवाली र उनका भारतीय समकक्षीबीच भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविधि पक्षमा विचार–विमर्श गरेको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

‘दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सहयोगअन्तर्गत् नेपालमा जारी विकास–निर्माणका आयोजनाको समीक्षा गर्नुका साथै ती परियोजनामा भएको प्रगतिप्रति सन्तुष्टि प्रकट गर्नुभएको छ । उहाँहरूले ती आयोजना निर्धारित् समयमा नै पूरा गर्न निर्वाधरुपमा तिनलाई गति दिनुपर्नेमा जोड दिनुभएको छ’–दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल र भारतका परराष्ट्रमन्त्रीले हालसालै दुवै देशबाट उच्चस्तरमा भएका भ्रमणको स्मरण गर्दै समानता, पारस्परिक विश्वास, सम्मान र आपसी लाभमा आधारित शताब्दीऔं पुरानो नेपाल–भारत सम्बन्धलाई अझ मजबुत् तुल्याएकामा त्यसको प्रशंसा गरेका छन् ।

भारतको बाह्य मामिला मन्त्रालयको सहकार्यमा अब्जबर रिसर्च फाउन्डेसनले रायसिना संवादको चौथो संस्करण आयोजना गरेको हो ।

मन्त्री ज्ञवाली उक्त संवादमा मुख्य वक्ताकारुपमा सहभागी हुन बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...