जगदिशपुर ताल संरक्षणमा प्रदेश सरकारको चासो, बुद्धको मूर्ति र पार्क निर्माण गरिने

news

वासुदेव वर्मा/ईमेज

कपिलवस्तु । चराको राजधानी मानिने कपिलवस्तुको जगदिशपुर तालको संरक्षण र सम्वद्र्धनमा प्रदेश ५ सरकारले चासो देखाएको छ ।

तालको बीचमा ६० फिट बुद्धको मूर्ति राखिनुका साथै जलाशय वरपरको क्षेत्रलाई सुन्दर बनाइने भएपछि पर्यटकीय क्षेत्रको रुपमा विकास हुने अपेक्षा गरिएको छ ।

जगदीशपुर ताल विभिन्न प्रकारका चराहरुको संगमस्थल हो ।

खासगरी रुस, चीन, मंगोलिया, मध्य एसियाका तुर्केमिनिस्तान र किर्गिस्तान लगायतका ठाउँबाट जाडो छल्न हिउँद याममा चराहरु नेपाल आउँछन् ।

जैविक विविधता, सिमसार र चराका कारण महत्वपूर्ण मानिएकाले यस ताललाई सन् २००३ मा रामसार क्षेत्रमा सूचीकृत गरिएको  थियो ।

तालको विकास र संर्बद्धनमा प्रदेश ५ सरकारले चांसो दिएसँगै स्थानीय समेत उत्साहित बनेका छन् ।

चालु आवमा प्रदेश सरकारले २ करोड र संघीय सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तालको बीचमा ६० फिट अग्लो बुद्धको मुर्तीका साथै वरपरको क्षेत्रमा भवन, जैविक विविधता पार्क र टावर निर्माण गर्ने तयारी गरिएको जगदिशपुर जलाशय ब्यबस्थापन बहुसरोकार मंचका अध्यक्ष ललित गुरुङले बताए ।

कृत्रिम रूपमा बनाईएको यो ताल १ सय ५७ हेक्टरमा फैलिएको मुलुककै ठूलो ताल हो । पछिल्लो समय तालमा डुंगा संचालनपछि पर्यटकहरुको आवागमन बाक्लिन थालेको छ ।

तर तालमा डुंगा चलाउँदा पक्षीको संख्या घट्न थालेको टिप्पणी पनि उठ्न थालेको छ ।

उता, बाणगंगा सिंचाइ डिभिजन कार्यालयका प्रमुख रामकृष्ण घोरासैनीले भने डुंगा सञ्चालन गर्दा पारिस्थितीक प्रणालीलाई कुनै असर नपार्ने स्पष्ट पार्छन् । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...