नेकपाले बनाएको कार्यदको म्याद सकियो, एकताको आधार पहिल्याउन हम्मेहम्मे

news

अक्कल कुँवर (इमेज)

काठमाडौं, पुस ३० । सांगठनिक एकता टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीले गठन गरेको कार्यदलको म्याद सोमबार सकिएको छ ।

तर, कार्यदलले समयसीमाभित्र आफूलाई दिएको काम सम्पन्न गर्न असफल भएको छ ।

प्रतिवेदन बुझाउन ढिलाइ भएको स्वीकार्दै कार्यदलका एक सदस्यले माघ पहिलो हप्ता प्रतिवेदन बुझाउने तयारी भएको बताएका छन् ।

सांगठनिक एकताका विषय टुंगो लगाउन गठन गरिएको ९ सदस्यीय कार्यदलले गत बिहीबार नै प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाइसक्नुपर्ने समयसीमा थियो ।

अध्यक्षद्वयले पुस २६ गतेसम्म सांगठनिक एकताको खाकासहित प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

पुस १३ गतेको स्थायी कमिटी बैठकले दिएको कार्यतालिकाअनुसार सोमबारसम्म कार्यदलले बुझाएको प्रतिवेदनमाथि सचिवालय बैठकमा छलफल भइसक्नुपर्ने थियो ।

तर, सचिवालयमा छलफल त परै जाओस्, म्याद सकिँदा पनि कार्यदलले प्रतिवेदन नै दिन सकेन ।

हामीसितको अनौपचारिक कुराकानीमा कार्यदलका सदस्य योगेश भट्टराईले कार्यदलले काम अन्तिम चरणमा पुर्‍याएको र माघ पहिलो साताभित्र प्रतिवेदन बुझाउने तयारी भएको बताए ।

कार्यदलका अर्का एक सदस्यले कार्यदलमा रहेका मन्त्रीहरुको कार्यव्यस्थताका कारण सांगठनिक एकताको प्रतिवेदन बुझाउनमा ढिलाइ भएको स्वीकार गरेका छन् ।

कार्यदलमा प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलसहित संघीय मन्त्रीहरु, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ छन् ।

त्यसो त कार्यदलमा पोलिट्ब्यूरो गठन, प्रदेश कमिटी सदस्यहरुको हेरफेरलगायतका विषयमा मतभेद छ ।

कार्यदलका सदस्य भट्टराईले भने पोलिट्ब्यूरो गठन र प्रदेश कमिटी हेरफेर पनि कार्यदलले नै टुंगो लगाउने दाबी गरे ।

कार्यदललाई बाँकी सांगठनिक एकीकरणको प्रस्ताव तयार, पार्टीको विधानमा भएका त्रुटि सच्याउने, प्रदेश कमिटी गठनको निर्णय हेरफेर, केन्द्रीय सदस्यहरुको कार्यविभाजन र जनवर्गीय संगठनहरुको एकता प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको थियो ।

संगठनात्मक एकताको लागि यो चौथो कार्यदल हो । संगठनात्मक एकताका लागि भन्दै यसअघि पनि तीनओटा कार्यदल बनेका थिए ।

पार्टीको अन्तरिम विधान र नियमावलीबमोजिम आर्थिक विनियम, कार्यकर्ता संरक्षण कोष विनियम, केन्द्रीय कार्यालयका कर्मचारीहरुको सेवा र सर्तसम्बन्धी विनियम र पार्टी स्कुल सन्चालन निर्देशिका मस्यौदाका लागि सुवास नेम्वाङको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।

प्रवासको कामसम्बन्धी निर्देशिका तयार गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकतवमा कार्यदल बनेको थियो ।

पार्टी एकतापछि एकीकृत पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशन गर्नसमेत कार्यदल बनेको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...