मन्त्रीहरुले गरेको कुटपिटको शृंखला

news

काठमाडौं, पुस ३० । प्रदेश नम्बर–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटपिट गरेको घटना यतिबेला चर्चामा छ ।

मन्त्रीहरुले कर्मचारीलाई दुर्व्यवहार गर्ने घटना भने नौलो होइन । तर, यस्ता घटनामा दोषीहरुलाई कारबाही भने कमै हुने गरेको छ ।

आइतबार मन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा सचिव विद्यानाथ झालाई कुटपिट गरे ।

संघीय सरकारले सशर्त अनुदानअन्तर्गत्को गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनोट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले दाबी गरेका छन् ।

सचिव झा यतिबेला मन्त्री यादवको थप्पड र लात्ती प्रहारबाट मुख र दाँतको भित्री भाग सुन्निएको तथा दायाँ हातको हाड भाँच्चिएकोजस्तो पीडा भएको भन्दै अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।

यो प्रकरण छानबिन गर्न प्रदेश सरकारले एक मन्त्रीको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।

यसअघि, कर्णाली प्रदेशमा कार्यरत् रहँदापनि झामाथि कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढाका स्वकीयसचिव डम्बर बुढासहितका व्यक्तिहरुले हातपातको प्रयास गरेका थिए । 

हुन त मन्त्रीहरुले कर्मचारीहरुलाई अभद्र व्यवहार गर्ने पुरानै शैली हो । तर, गणतन्त्र आइसकेपछि यस्ता घटनाहरुमा वृद्धि भएको छ ।

२०६५ सालमा तत्कालीन वनमन्त्री मात्रिका यादवले ललितपुर जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी डन्डुराज घिमिरेलाई शौचालयमा थुनेर चर्चामा आएका थिए ।

ललितपुरको एक सामुदायिक वनमा सन्चालित ढुंगाखानीले वातावरण विनास गरेको भन्दै स्थानीयले विरोध गर्दा पनि जिविसले सुनेको नसुन्यै गरेको र अवैधरुपमा चलेको खानी नरोकेको भन्दै मन्त्री यादवले एलडीओलाई थुनेका थिए ।

यो घटनामा जनमत विभाजित भयो । केहीले मन्त्रीजस्तो व्यक्तिले कानुन हातमा लिएको टिप्पणी गरे । केहीले भ्रष्ट कर्मचारीलाई तह लगाउन यस्तै गर्नुपर्छ भने ।

मन्त्री यादवले तत्कालीन व्यवस्थापिका संसदमा जवाफ दिए–‘हो मैले भ्रष्ट कर्मचारीलाई थुनकै हो ।’

सार्वजनिकरुपमै कसैको बेइज्जती गर्दा मन्त्री यादवले माफीसमेत मागेनन् । न उनलाई कुनै कारबाही नै भयो ।

२०६६ सालमा तत्कालीन कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई कार्यालय परिसरमै गएर थप्पड हानिन् । सीडीओ भण्डारी निरीह बने ।

आफूलाई लिन एअरपोर्टमा राम्रो गाडी नपठाएको झोंकमा उनले सीडीओलाई हिर्काएकी थिइन् ।

यो घटना निकै लामो समयसम्म चर्चाको विषय बन्यो । पछि मन्त्री बेगमले सीडीओ भण्डारीलाई हिर्काउनुको कारण फेरिरहिन् ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालाई पनि मन्त्री बेगमलाई बर्खास्त गर्न चर्को दबाब परेको थियो । तर, उनले पनि कुनै कारबाही गर्न सकेनन् ।

२०६६ सालमै तत्कालीन भौतिक तथा योजना सहायक राज्यमन्त्री कलावती पासवानले बाराका एलडीओ श्यामचन्द्र मिश्रालाई हातपातको प्रयास गरिन् ।

२०६८ सालमा स्वास्थ्य राज्यमन्त्री सरोज यादव रक्सीकै नसामा वीर अस्पताल पुगे ।

रक्सीले मात्तिएका मन्त्री यादवले अस्पतालका कर्मचारीहरुलाई दुव्र्यवहार गरे । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनलाई सामान्य स्पष्टीकरण सोधे । मन्त्रीले यस घटनामा कुनै क्षमा मागेनन् ।

सार्वजनिक चर्चाको विषय बनेका यस्ता कुनैपनि घटनामा सरकारी तवरबाट छानबिन हुने गरेको छैन । आफूलाई पीडित बताउनेहरुले न्याय पाउन सकेका छैनन् ।

महत्वपूर्ण सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरुबाट हुने यस्ता गैरजिम्मेवार घटनाले समाजलाई कुन दिशामा लैजाला ? सोच्नेबेला आयो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...