‘कांग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजियो’, पौडेलले दिए चेतावनी

news
तस्वीरः रोशन सापकोटा/रासस ।

काठमाडौं, पुस ३० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारले आफ्नो पार्टीका नेताका नाममा स्थापना भइसकेका अस्पताल विघटन गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी सरकारले कांग्रेसका तत्कालीन सभापति एव पूर्वप्रधानमन्त्रीद्वय स्व. गिरिजाप्रसाद कोइराला र स्व. सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल विघटन गर्ने प्रक्रिया अघि बढाएको भन्दै आपत्ति प्रकट गरे ।

तत्कालीन सरकारले स्व. गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा श्वास–प्रश्वास र बाँकेमा स्व. सुशील कोइरालाको नाममा क्यान्सर अस्पताल खोल्ने निर्णय गरी दुवै अस्पताललाई मुलुककै प्रतिष्ठित र सुविधासम्पन्न बनाउने गरी विस्तारको प्रक्रिया अघि बढाएको थियो ।

मुलुकको शान्ति–प्रक्रियाका नेतृत्वकर्ता स्व. गिरिजाप्रसादको श्वास–प्रश्वासबाट ग्रसित भइ निधन भएको थियो भने संविधान जारी गर्दाताका सरकारको नेतृत्वकर्ता स्व. सुशील कोइराला जीवनको उत्तराद्र्धमा क्यान्सरबाट पीडित थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका ११ ठूला अस्पताललाई संघीय सरकार मातहत रहनेगरी गठन आदेशका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको आफूहरुलाई जानकारी आएको नेता पौडेलले दाबी गरे ।

उनले भने–‘तर मन्त्रिपरिषद बैठकले कांग्रेसका दुवै नेताका नामका बाहेक ९ अस्पताललाईमात्र सदर गरी निर्णय गर्‍यो र स्वास्थ्य मन्त्रालयले ती दुवै अस्पताल विघटनको प्रक्रियामा लगेको भन्ने हामीले आज खबर पायौं ।’

सो खबर पाएलगत्तै कांग्रेस नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार भेट्न खोजेका थिए ।

सचिवालयले प्रधानमन्त्रीको व्यस्तताले भेटका लागि मंगलबारमात्रै समय उपलब्ध हुने खबर गरेको उनले सन्चारकर्मीलाई जानकारी गराए ।

कांग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेर सरकारले दिन खोजेको संकेतप्रति कांग्रेस सशंकित भएको बताउँदै नेता पौडेलले भने–‘अब हामी प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा छौं । त्यसपछि सरकारको यही रबैया रह्यो र प्रतिपक्षीप्रति पक्षपातपूर्ण व्यवहार गरे हामी कठोर कदम चाल्न बाध्य हुनेछौं ।’

नेता पौडेलले कठोर कदमकारुपमा कांग्रेसले सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिए ।

सन्चारकर्मीको प्रश्नमा उनले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ खरिद प्रक्रियामा देखिएको अनियमितताप्रति छानबिन हुनुपर्ने माग गरे ।

साथै, उनले निर्मला हत्याकान्डका दोषी पत्ता नलाग्नु पछाडि घटनामा शक्तिशाली मान्छेको संलग्नता भएको हुनसक्ने आशंका व्यक्त गरे ।

सरकार शान्ति–सुरक्षा र विकासमा असफल भएको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले विकास निर्माणका सन्दर्भमा बनिसकेका अस्पताल विघटन गर्न खोजेर उल्टो बाटोमा हिँडेको आरोप लगाए ।

कांग्रेस हालसम्म संयमित र जिम्मेवार प्रतिपक्षको भूमिकामा सरकारलाई बेलाबेलामा सचेत गराउँदै आएको बताउँदै उनले आफूहरुले सरकारलाई सुझाव दिँदै आएको भएपनि नसुनेको आरोप लगाए ।

वरिष्ठ नेता पौडेलले भने–‘अब हामीले टुलुटुलु हेरेर बस्न नसक्ने अवस्था आयो । कांग्रेसको अस्तित्वमाथिको हमलाकारुपमा हामीले यस घटनालाई लिएका छौं ।’

चिकित्सा विधेयक पनि संसदबाट बहुमतका आधारमा जबर्जस्ती पारित गर्न खोजिए प्रतिवाद गर्ने धारणा व्यक्त गर्दै उनले आमरण अनशनरत् डा. गोविन्द केसीका मागप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

मुलुकका दूरदराजमा अस्पताल खोल्ने कुरा सरकारले नमान्नु संविधानको समाजवादको भावनाविपरीत रहेको टिप्पणी गर्दै नेता पौडेलले कांग्रेसले यस्तो हुन नदिने स्पस्ट पारे । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...