सचिव कुट्ने मन्त्रीलाई कारबाहीको माग गर्दै कर्मचारीहरु आन्दोलित

news

जनकपुर । सचिवमाथि कुटपिट गर्ने मन्त्रीलाई कारबाहीको माग गर्दै निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड युनियन आजदेखि आन्दोलनमा उत्रिएको छ ।

प्रदेश–२ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झालाई कुटपिट गर्ने आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई कारबाहीको माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कुटपिट गर्ने मन्त्री यादवमाथि कारबाहीको माग गर्दै सोमबार मुख्यमन्त्री लालबाबु राउत र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंडेलललाई ज्ञापनपत्र बुझाउँदै ट्रेड युनियनले आन्दोलनमा उत्रिने २४ घण्टे अल्टिमेटम दिएको थियो ।

कर्मचारीहरुले बुधबार विहान मन्त्रालयअगाडि जम्मा भएर माघ ४ गतेसम्मको लागि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।

जसअन्तर्गत कर्मचारीले आज बिहान १० बजेदेखि ११ गतेसम्म पेन डाउन गरी दिनभर हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

बिहीबार हातमा कालोपट्टी बाँधी बिहान १० बजेदेखि १२ बजेसम्म पेन डाउन गर्ने र शुक्रबार हातमा कालोपट्टी बाँधेर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पेन डाउन गर्ने आन्दोलनको कार्यक्रम रहेको ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साहले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...