सभापति देउवा निवासमा नेवि संघको धर्नाः देउवाले भनेः ‘नयाँ निर्णय गर्छु’

news

काठमाडौं ।  नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद थपिएको विरोधमा नेविसंघका नेता-कार्यकर्ताहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकन्ठमा घेराउ तथा धर्ना दिएका छन् ।

मोटरसाइकल र्‍यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेका नेता–कार्यकर्ताहरुले माघ २ गतेबाट सकिएको नेवि संघ केन्द्रिय समितिको कार्यकाल थप गरेकोमा विरोध जनाएका हुन ।

नेवि संघका नेताहरु दिपक भट्टराई, बामदेव अधिकारी, मनोज बैद्य, प्रदिप शर्मा, भोला नेपाललगायत काठमाडौं उपत्यका भित्रका क्याम्पस इकाइ सभापति, स्ववीयू सभापति साथै नेता–कार्यकर्ताहरु देउवा निवास पुगेका थिए ।

विद्यार्थी भीड बढेपछि देउवा निवासमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । धर्नामा पुगेका विद्यार्थी नेता कार्यकताहरु अधिकांश पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल निकटका छन् ।

विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद थियो सकिएको छ । तर तत्कालका लागि सोही कार्यसमितिलाई निरन्तरता दिएको बताइन्छ ।

पटक पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिन नहुने भन्दै नेविसंघका केही नेता–कार्यकर्ताहरुले विरोध गरिरहेका छन् ।

सभापति देउवाले माघ १० गते बस्ने केन्द्रिय समितिको बैठकबाट माग सम्बोधन गर्ने बचन दिएका छन् । देउवाले नेवि संघ भित्रको विवाद र व्यथिति बुझिसकेको जनाउ दिंदै तत्काल नयाँ निर्णय गरेर जाने बताए ।

नेविसंघका उपाध्यक्षत्रय सञ्जय कुमार यादव, पुष्प शाही र विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले गत पुस २७ गते नै पदबाट राजनीनामासमेत दिइसकेका छन् ।

त्यस्तै बरिष्ठ नेता पौडिल निकट ४५ केन्द्रिय सदस्यले पनि राजीनामा बुझाएका छन् ।

यसअघि पटक–पटक म्याद थप भए पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद छ । ७७ जिल्लामध्ये १४ जिल्लामा भने नेविसंघको अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...