डा. केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न आग्रह

news

काठमाडौं, माघ ३ । नेपाली कांग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै थापाले देशमा मेडिकल शिक्षाको सुधार हुनुपनि प्रधानमन्त्री केपी शर्मा ओलीको जित हुने भन्दै त्यसलाई कुनै राजनीतिक पूर्वाग्रहबाट नहेर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

डा. केसीको अभियानकै कारण नेपालको मेडिकल क्षेत्रमा केही सुधारहरु देखिन थालिसकेको र मेडिकल शिक्षा पढ्न बाहिर जाने विद्यार्थीको संख्यासमेत कम हुँदै गएको उनले बताए ।

डा. केसीको मागअनुसार ऐन बनाउँदा १० वर्ष काठमाडौंबाहिर मेडिकल कलेज खोल्न सकिँदैन भन्ने भ्रम फैलाएर व्यापारीमुखी विधेयक ल्याइएको थापाको आरोप थियो ।

विज्ञहरुले नै नेपालमा मेडिकल विश्वविद्यालय जरुरी छैन भन्दा–भन्दै मेडिकल विश्वविद्यालय खोल्न खोज्नुजस्तो अराजकता अरु केही हुन नसक्ने उनको भनाइ थियो ।

स्वास्थ्य मन्त्रालयले नै सन् २०८० देखि अनमी, अहेबलगायतका प्रमाणपत्र तहसम्मको स्वास्थ्य कार्यक्रम नलिने भनिसकेको बताउँदै थापाले भने–‘त्यस्तो कार्यक्रम राख्नुको अर्थ हुँदैन ।’

मेडिकल कलेजहरुलाई १० वर्षसम्म नाफा कमाउन दिने र त्यसपछि गैरनाफामूलक बनाउने भनेर सरकारले व्यापारीहरुको स्वार्थ पूरा गराउन लागेको जिकिर पनि उनले गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...