अनशनकारी थापालाई पनि काठमाडौं लगियो

news

भद्रपुर, माघ ४ । चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि आमरण अनशन शुरु गरेका युवा विजय थापालाई आज बिहान थप उपचारका लागि झापाबाट काठमाडौं लगिएको छ । 

नेपाली सेनाको एनए ००५५ कलसाइन भएको हेलिकप्टर आज बिहान १० बजे अनशनकारी थापालाई लिएर चन्द्रगढी विमानस्थलबाट काठमाडौंतर्फ उडेको हो ।

इलाममा अर्का अनशनकारी प्राडा गोविन्द केसीसँगै अनशन बसेका काठमाडौंका विद्यार्थी थापाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र इलाममा उपचार सम्भव नभएको चिकित्सकले बताएपछि उनलाई आज बिहान ३ बजे इलामबाट एम्बुलेन्समार्फत झापा ल्याइएको थियो । झापा ल्याएर उनलाई मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको थियो । 

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र प्रहरीका जिल्लास्थित उच्च अधिकारी थापालाई काठमाडौं पठाउने बेलामा विमानस्थलमा उपस्थित थिए ।

अर्का अनशनकारी प्राडा केसीलाई चन्द्रगढी विमानस्थलबाट राति नै नेपाली सेनाकै एमआई १७ नाइटभिजन हेलिकप्टरमार्फत काठमाडौं पु¥याएको थियो । 

दुवै अनशनकारीलाई जीवनरक्षाका लागि थप उपचार आवश्यक भएको हुँदा सरकारले नै काठमाडौं लैजाने व्यवस्था मिलाएको हो । दुवैलाई एउटै हेलिकप्टरमार्फत राति नै काठमाडौं लैजाने तयारी सरकारले गरेता पनि चन्द्रगढी विमानस्थलमा अनशनकारी थापालाई ल्याउन आधा घण्टा ढिलाइ भएको र त्यहीबेला प्राडा केसीको स्वास्थ्य झन् नाजुक बनेपछि केसीलाई मात्र लिएर सेनाको हेलिकप्टर राति काठमाडौं उडेको थियो । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...