नेपाल उपविजेतामै सीमित, आयोजक थाइल्यान्डसँग ७० रनले पराजित

news

काठमाडौं, माघ ५ । नेपाललाई ७० रनले पराजित गर्दै आयोजक थाइल्यान्डले थाइल्यान्ड टी–२० स्म्यास क्रिकेटको उपाधि जित्न सफल भएको छ ।

टेर्ड थाइ मैदानमा शनिबार भएको फाइनल खेलमा १२२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपालले ५१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो ।

नेपालको सुरुआत राम्रो हुन सकेन ।

ओपनर काजल श्रेष्ठ पहिलो ओभरमा एक रन बनाएर रनआउट भइन् भने लगत्तै दोस्रो ओभरमा इन्दु वर्मा खाता नखोल्दै एलबीडब्लु आउट भइन् ।

प्रतियोगितामा उत्कृष्ट लयमा रहेकी सीता रानामगरले १३ तथा नेरी थापाले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

रोमा थापा २, सरिता मगर ५ तथा कप्तान रुबिना क्षेत्री ५, करुणा भण्डारी ४ रन र डली भट्ट, कविता कुँवर खाता नखोली आउट हुँदा नेपाल १७.२ ओभरमा ५१ रनमा समेटिन पुग्यो ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत् गरेको थियो ।

घरेलु टोलीले निर्धारित् २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको थियो ।

घरेलु टोलीका लागि नाथचन चनथमले सर्वाधिक ६९ रन बनाइन् । यस्तै, नरुमोल चवाइले २७ र चानिदा सुथिरङले ‘नटआउट’ १९ रन बनाइन् ।

समूह चरणमा अपराजित र सेमिफाइनलमा इन्डोनेसियालाई हराएको नेपाल उच्च मनोबलमा रहेको थियो ।

शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो ।

अन्तर्राष्ट्रिय सहभागिताको १२ वर्षमा दोस्रोपटक उपाधिनजिक पुगेको नेपालको उपाधि जित्ने सपना यसपटक पनि पूरा हुन सकेन ।

यसअघि, सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता ‘एसीसी वुमेन्स च्याम्पियनसिप’मा नेपाल बंगलादेशसँग फाइनलमा पराजित भएको थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...