काठमाडौंका सडकमा ८ हजार बत्ती जडान गरिँदै

news

गृष्मा राजभण्डारी र दिलिप पोखरेल (इमेज)

काठमाडौं, माघ ७ । काठमाडौं महानगरपालिकाले रातको समयमा नगरभित्रका सबै सडकलाई उज्यालो बनाउने अभियान सुरु गरेको छ ।

‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत् महानगरपालिकाले रातको समयमा महानगरभित्रका सबै सडक झिलिमिली बनाउने उद्देश्यसहित सडक बत्ती जडान अभियान सुरु गरेको हो ।

काठमाडौं महानगरपालिकाले रातको समयमा महानगरभित्रका सबै सडक उज्यालो बनाउने तयारी गर्दै ८ हजार सडक बत्ती जडान सुरु गरेको छ ।

महानगरपालिकाले ३२ ओटै वडाको तथ्यांक संकलन गरी विद्युतीय बत्ती जडान गर्न सुरु गरेको हो ।

महानगरलाई अँध्यारोमुक्त बनाउन चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममासमेत ‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत् ५ करोड रुपैयाँ बजेट छुट्याएको थियो ।

मुख्य–मुख्य सडक, चोक, गल्लीलगायत आवश्यक स्थानमा बत्ती जडान गर्ने महानगरको योजना छ ।

बत्ती जडानका लागि महानगरपालिकाले धार्मिक र व्यावसायिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ ।

सबै वडाका सडकमा गरी ८ हजार बत्ती जडान गर्ने योजना रहेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

आवश्यकता र ठाउँअनुसार २४ देखि ५० वाटसम्मका बत्ती जडान गर्ने योजना महानगरपालिकाको छ ।

सडक बत्ती जडानका लागि महानगरपालिकाले कुनै बाह्य सहयोगसमेत लिएको छैन । आफ्नो एकल प्रयासमै यो अभियान सुरु गरिएको प्रवक्ता डंगोलले बताए ।

महानगरको ‘मेयर उज्यालो कार्यक्रम’ प्रत्येक वडालाई विनियोजन गरिएको बजेटको १० प्रतिशत सडक बत्तीका लागि खर्च गर्नैपर्ने प्रावधान छ ।

यसअनुसार तीन करोड बजेट छुट्ट्याइएको वडाले सडक बत्तीका लागि झन्डै ३० लाख रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

सरकारकै पहलमा पनि राजधानीका धेरै सडकमा सोलार प्यानल जडान गरेर सडकलाई उज्यालो बनाउने प्रयास नभएको होइन । करोडौं रकम खर्च गरेर महानगरपालिकाभित्र हजारौं बत्ती जडान गरिएका छन् ।

तर, मर्मत–सम्भारको अभावमा अधिकांश बत्ती नबल्ने अवस्थामा पुगेका छन् । त्यस्ता बत्ती मर्मत गरेर बाल्नुको सट्टा पुनः ठूलो धनराशि खर्च गरेर नयाँ बत्ती जडान गर्ने अभियानप्रति भने कतिपयले आर्थिक चलखेलको आशंकासमेत गरेका छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया