‘पूर्वाधार र दक्ष जनशक्तिको अभावमा स्वास्थ्य क्षेत्र खस्कँदै गयो’

news

काठमाडौं, माघ ९ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभावका कारण स्वास्थ्य क्षेत्र खस्कँदै गएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको ६ महिनाको प्रगति विवरण जानकारी दिन बुधबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा उनले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी नगरेका कारण स्वास्थ्य क्षेत्रमा सुधार हुन नसकेको बताए ।

अस्पतालहरुमा राम्रो स्वास्थ्य सेवा नहुँदा स्वास्थ्य बिमा कार्यक्रमसमेत सफल हुन नसकेको मन्त्री यादवको भनाइ थियो ।

यस्तै, चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान, वीर अस्पताल र ट्रमा सेन्टर लामो समयदेखि नेतृत्वविहीन रहेकामा मन्त्री यादवले मन्त्रालयले निर्णय गरेर पठाएको तर प्रधानमन्त्री कार्यालयले रोकेको बताए ।

सो अवसरमा स्वास्थ्यसचिव डा. पुष्पा चौधरीले मन्त्रालयले १५औं पञ्चवर्षीय योजना तथा स्वास्थ्य क्षेत्रको दीर्घकालीन योजना विक्रम संवत् २१०० तयार पारेको जानकारी दिइन् ।

स्वास्थ्य बिमा नियमावली स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइएको र राष्ट्रिय नर्सिङ आप्रवास स्वास्थ्य नीति २०७५ को अन्तिम मस्यौदा तयार भएको जानकारी उनले दिइन् ।

हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण यसै आर्थिक वर्षबाट सुरु गर्ने, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई प्रदेश नम्बर–२ को स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनेलगायतका काम अघि बढेको पनि सचिव चौधरीले बताइन् ।

यस्तै, कतार सरकारसँग स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने र भारत सरकारसँग स्वास्थ्य तथा औषधिमा सहकार्य गर्न लागिएको पनि जानकारी दिइयो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...