कांग्रेस बैठक बिहीबार, नेविसंघबारे निर्णय लिने

news

काठमाडौं, माघ ९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्दैछ ।

बैठकमा पदावधि समाप्त भएको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक राजनीतिजस्ता विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसको भ्रातृसंस्था नेविसंघ केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ ।

कांग्रेसमा नेविसंघको नयाँ तदर्थ केन्द्रीय समिति बनाउने वा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मेवारी दिने भन्ने सम्बन्धमा छलफल जारी छ ।

नेविसंघको वर्तमान कार्यसमिति २०७३ साल भदौ २ गते भएको ११औं महाधिवेशनबाट दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो ।

कुल १६५ सदस्यीय कार्यसमितिका ५२ पदाधिकारी र सदस्यले पदबाट सामूहिक राजीनामा दिइसकेका संघका नेता प्रेम जोशीले जानकारी दिए ।

त्यस्तै, पार्टीको गत मंसिर २८ देखि पुस ८ गतेसम्म भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई महासमिति बैठकबाट प्राप्त सुझावलाई मध्यनजर राखी केन्द्रीय कार्यसमितिले परिमार्जन गर्नेगरी सर्वसम्मतिले पारित गरेको थियो ।

त्यसमा खासगरी केन्द्रीय सदस्यले पार्टीका स्थानीय तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटकमात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो ।

केन्द्रीय समिति बैठकको तयारी र खासगरी नेविसंघको सम्बन्धमा के गर्ने भनी परामर्श गर्न बुधबार सभापति शेरबहादुर देउवाको बूढानीलकन्ठस्थित निजी निवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...