थ्रीस्टार सिमरा गोल्डकप च्याम्पियन

news

बारा, माघ १२ । बाराको सिमरामा सम्पन्न १०औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ ।

शनिबार सिमरा रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ‘सडनडेथ’मा पराजित गर्दै थ्रीस्टार पहिलोपटक च्याम्पियन बनेको हो ।

खेल निर्धारित् ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएपछि ‘टाइब्रेकर’मा गएको थियो ।

उपाधिसँगै थ्रीस्टारले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता बनेको गत संस्करणको च्याम्पियन आर्मीले ३ लाखमा चित्त बुझायो । गत वर्ष आर्मी फाइनलमा थ्रीस्टारलाई नै हराउँदै विजेता बनेको थियो ।

फाइनल खेलको ‘म्यान अफ दी म्याच’ थ्रीस्टारका गोलरक्षक एलन न्यौपाने घोषित भए । उनी प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पनि चुनिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका सुशील राई घोषित भए । उनले यामाहाको एउटा सेलुटो मोटरसाइकल प्राप्त गरे ।

यस्तै, उत्कृष्ट डिफेन्डर थ्रीस्टारका अडमा डोम्बिया, उत्कृष्ट फरवार्ड आर्मीका टंक बस्नेत, उत्कृष्ट मिडफिल्डर आर्मीकै सन्तोष तामाङ र उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका प्रशिक्षक मेघराज केसी घोषित भए ।

विधागततर्फ उत्कृष्ट हुनेहरुले जनही २० हजार रुपैयाँ पाए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...