अन्ना हजारेद्वारा आमरण अनशन आरम्भ

news

रलेगण सिद्धी (भारत), माघ १६ । भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनशन सुरु गरेका छन् ।

केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उनले अनशन सुरु गरेका हुन् ।

भ्रष्टाचारविरुद्धका काम गर्न मोदी नेतृत्वको सरकार असफल भएको भन्दै उनले स्वतन्त्र लोकपाल र लोकायुक्त नियुक्त गर्नुपर्ने माग गरेका छन् ।

‘कुनै सर्वसाधारणले प्रमाणसहित उजुरी दियो भने लोकपालले प्रधानमन्त्रीलाई पनि छानबिन गर्न सक्दछ । त्यसैगरी, लोकायुक्तले मुख्यमन्त्री, अन्य मन्त्रीहरु र प्रदेशसभाका सांसदहरुलाई पनि छानबिन गर्नसक्छ’–आफ्नै गाउँमा अनशन सुरु गर्नुअघि उनले भने ।

आफूमाथि नै छानबिन गर्ने भएकाले उनीहरुले यस्तो व्यवस्था गराउन नचाहेको उनको आरोप छ ।

उनले यस्तो व्यवस्था कुनैपनि पार्टीको चाहनामा नपरेको बताए ।

लोकपाल विधेयक सन् २०१३ मा नै संसदले पारित गरिसकेको भएपनि सरकारले अहिलेसम्म त्यसमा भएको व्यवस्थाअनुसार लोकपाल र लोकायुक्त नियुक्त नगरेकाले फेरि अनशनमा बस्नुपरेको उनको भनाइ छ ।

आफ्ना पूर्वसमर्थकहरु, जो अहिले राजनीतिमा छन्, उनीहरुले पनि अनशनमा साथ दिनसक्ने बताउँदै उनले भने–‘हाम्रो मञ्चमा अब कुनै राजनीतिक नेताहरुलाई ठाउँ छैन ।’

उनले थपे–‘लोकपाललाई निषेध गर्नेगरी तीन दिनभित्रमा उनीहरुले अर्को कानुन पारित गरेका छन् । त्यसमा राष्ट्रपतिले पनि लालमोहर लगाइसक्नुभएको छ । तरपनि लोकपाल नियुक्त गरिएको छैन ।’

‘पाँच वर्षसम्म पनि उनीहरुले यसबारेमा केही गरेनन् । त्यसैले राजनीतिक नेताहरुलाई हाम्रो ठाउँमा आउन दिँदैनौं’–हजारेले भने ।

भारतमा सहिद दिवसकारुपमासमेत मनाइने महात्मा गान्धीको स्मृति दिवस जनवरी ३० को दिन पारेर आफूले अनशन सुरु गरेको पनि उनले बताए । रासस/एएनआई

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...