नेपाल २१ रनले पराजित, ‘डेब्यु’ खेलाडी सन्दीप जोराको अर्धशतक

news

काठमाडौं, माघ १७ । ‘डेब्यु’ खेलाडी सन्दीप जोराले शानदार अर्धशतक बनाएपनि नेपाल युएईविरुद्धको पहिलो ट्वेन्टी–२० क्रिकेटमा २१ रनले पराजित भएको छ ।

बिहीबार विजयका लागि १५४ रनको चुनौती पछ्याउनेक्रममा नेपालले निर्धारित् २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रनमात्र बनाउन सक्यो ।

डेब्यु खेलाडी सन्दीपले ४६ बलमा एक छक्का र तीन चौकाको मद्दतले अविजित रहँदै ५३ रन बनाए ।

त्यस्तै, सोमपाल कामीले १९ बलमा २७ तथा कप्तान पारस खड्काले २५ बलमा २५ रन बनाए । त्यसबाहेक कसैले दोहोरो स्कोर जोड्न सकेनन् ।

यसअघि, दुबईस्थित आइसीसी एकेडेमीको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै युएईले २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएको थियो ।

साइमन अनवरले ५९ रन बनाएको इनिङ्समा सन्दीप लामिछाने र वसन्त रेग्मीले समान २/२ विकेट लिए । यस्तै, सोमपाल कामी र डेब्यु खेलाडी अभिनाश बोहराले समान १/१ विकेट झारे ।

यो खेलमार्फत् सन्दीप र अभिनाशसँगै एकदिवसीयका कीर्तिमानी ब्याट्सम्यान रोहितकुमार पौडेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् । रोहितले ४ रनमात्र जोडे ।

युएई विरुद्धको तीन खेलको एकदिवसीय शृंखलाको पहिलो खेल हारे पनि त्यसपछि लगातार दुई खेल जितेर शृंखलामाथि नै कब्जा जमाएर हौसिएको नेपाली टोलीले अब बाँकी रहेका दुई खेल जितेर टी–२० को शृंखलामाथि पनि कब्जा जमाउने विश्वास लिएको छ ।

दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...