नेपालले युएईलाई हरायो, दीपेन्द्र र पवनबीच ५५ रनको महत्वपूर्ण साझेदारी

news

काठमाडौं, माघ १८ । युएईविरुद्धको दोस्रो ट्वेन्टी–२० क्रिकेटमा नेपाल ४ विकेटले विजयी भएको छ ।

शुक्रबार दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा भएको खेलमा १०८ रनको झिनो चुनौती नेपालले १९ ओभर ३ बल खेल्दै ६ विकेटको क्षतिमा पूरा गरेको हो ।

खराब सुरुआत गर्नेक्रममा ४६ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफबीच छैटौं विकेटका लागि ५५ रनको साझेदारी भएपछि नेपाल विजयी भएको हो ।

‘म्यान अफ दी म्याच दीपेन्द्र’ले ४१ बलमा एक छक्का र चार चौकाको मद्दतले अविजित रहँदै ४७ रन बनाए । पवनले २५ बलमा १८ रन बनाए ।

यस्तै, अलराउन्डर करण केसीले २३ बलमा २० रन जोडे । प्रदीपसिंह ऐरीले ८, उपकप्तान ज्ञानेन्द्र मल्लले ७, कीर्तिमानी ब्याट्सम्यान सन्दीप जोराले एक रन जोड्दा कप्तान पारस खड्का ‘डकआउट’ भएका थिए ।

यसअघि, नेपालको सशक्त बलिङसामु टिक्न नसकेको युएईले १९ ओभर २ बलमात्र क्रिजमा टिकेर १०७ रन बनाएको थियो ।

सीपी रिज्वानले सर्वाधिक ४४ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा अविनाश बोहराले २० रन खर्चेर ३ विकेट लिए ।

यस्तै, सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान २ विकेट झारे । युएईका एक खेलाडी ‘रनआउट’ भएका थिए ।

यो जितसँगै नेपालले तीन खेलको शृंखलामा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।

अब तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ ।

आइतबारको खेलमा जित हासिल गरे नेपालले टी–२० क्रिकेटमा पहिलोपटक शृंखलामाथि कब्जा जमाउनेछ ।

पहिलो खेल हारेर पनि एकदिवसीय क्रिकेट शृंखला जितेको नेपालले टी–२० शृंखलमा पनि युएईविरुद्ध अनुकूल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...