दिल्लीमा स्वाइन फ्लुका कारण ११ जनाको मृत्यु

news

नयाँ दिल्ली, माघ २३ । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ । 

तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ बिरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक रूपमा प्रचार नगरिकन निदानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताएका छन् । 

गत बर्ष स्वाइन फ्लुका विरामीको सङ्ख्या २०५ रहेको र दुई जनाको मृत्यु भएको थियो । यस बर्ष उक्त सङ्ख्या निकै धेरै देखिएको बताइएको छ । जनवरी २९ सम्म स्वाइन फ्लुका बिरामीको सङ्ख्या ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको सङ्ख्यामा दोब्बर देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

दिल्ली सरकारले आफ्ना सबै अस्पतालमा चाहिने औषधि, खोप, तथा अन्य उपचारका सामग्रीको बेलैमा स्थानीय तहमा खरिद गरी विरामीलाई स्वास्थ्य सेवाको कमी हुन नदिन सावधानी गराइएको बताएको छ । (रासस/सिन्ह्वा)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...