५९ करोड ८२ लाखको लागतमा माङ्सेबुङमा कालोपत्रेसहितको सडक निर्माण सुरु

news

इलाम । इलामको पश्चिमी गाउँ माङसेबुङ्ग गाउँपालिकामा कालोपत्रेसहितको सडक निर्माण हुने भएको छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)को ग्रामीण सडक सञ्जाल सुधार आयोजना मार्फत एसियाली विकास बैंकको ऋण सहयोगमा सडक निर्माण गर्न लागिएको हो ।

यो योजनाअन्तर्गत माङसेबुङ्गको तिखे गोलाईदेखि चतुरे खण्डको १३ किलोमिटर र मंगलबारे एकातप्पा खण्डको ९ किलोमिटर सडक आगामी दुई वर्षभित्रमा कालोपत्रेस्तरमा स्तरोन्नति भइसक्ने बताइएको छ ।

३ दशमलव ७५ मिटर चौडाइको कालोपत्रे सडक कृषि सडकको मापदण्ड अनुरुप भएको बताइए पनि यस क्षेत्रको सवारी चापलाई नधान्ने माङसेबुङ्ग गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।

ठेक्का सम्झौता भइसकेको सडकको डिजाइन कन्सल्टेन्सीले स्वीकृत गरिसकेको बताइएको छ । सडकको नालीसहित पाँच दशमलव २५ मिटर चौडा मात्र सडकको डिजाइन रहेको छ ।

मंगलबारे बसपार्कदेखि एकातप्पा जोड्ने सडककोसमेत यस्तै डिजाइन रहेको बताइएको छ । दुवै सडक ५९ करोड ८२ लाख ८४ हजार रुपैयाँको लागतमा निर्माण सुरु गरिएको हो ।

निर्माण कम्पनी कालीका गजुरमुखी जेभीले दुवै सडकको एक साथ सम्झौता गरी निर्माण सुरु गरेको छ ।

सडक निर्माण भएसँगै पश्चिमी इलामको फाकफोकथुम गाउँपालिकालाईसमेत कालोपत्रे सडकले छुने भएको छ ।

सडक निर्माण भएपछि इलामको प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाम पुग्न तराईबाट सहज हुने भएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया