विश्वले नै नेपाललाई उत्सुकतापूर्वक नियालिरहेको छ : दाहाल

news

काठमाडौं, फागुन १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विश्वले नै नेपाललाई निकै उत्सुकतापूर्वक नियालिरहेको बताएका छन् ।

‘जनयुद्ध’ दिवसका अवसरमा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले राजनीतिक एकता र परिवर्तनमा नेपालका राजनीतिक दलहरुको सक्रियताप्रति विश्व समुदायको ध्यानकेन्द्रित रहेको बताए ।

उनले मदन भण्डारी स्मृति दिवसमा दुई कम्युनिस्ट पार्टीको एकता हुनु र एकतापछि पहिलोपटक संयुक्तरुपमा जनयुद्ध दिवस देशभर मनाउनु नै आफैंमा ऐतिहासिक परिघटना भएको उल्लेख गरे ।

अध्यक्ष दाहालले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली सरकारको एक वर्ष पुगेको अवसरमा अरु कामको चापलेमात्र कार्यक्रममा आउन नसकेको भन्दै आपसी समझदारीबाटै जनयुद्ध दिवसका कार्यक्रमहरु तय गरिएको जिकिर गरे ।

उनले जनयुद्ध दिवसको कार्यक्रमले पार्टी एकता छिटो टुंग्याउने प्रेरणा दिएको बताए ।

जनयुद्ध, शान्ति–सम्झौता, हतियार समायोजन, संविधान निर्माण र तीन तहका निर्वाचन सामान्य परिघटना नभएको धारणा उनले व्यक्त गरे ।

उनले सशस्त्र विद्रोह र जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न सबै प्रकारका भ्रमलाई त्यागेर गोलबद्ध हुन कम्युनिस्ट घटकहरुलाई आग्रह पनि गरे ।

उनले नेपाली कांग्रेसलाई पनि यात्रामा एक भएर अगाडि बढ्न आह्वान गरे ।

कार्यक्रममा महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु भीम रावल, युवराज ज्ञवाली, टोपबहादुर रायमाझी, पम्पा भुसाललगायतको उपस्थिति थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया