उद्यमशीलताको विकास महत्वपूर्ण : राष्ट्रपति

news
तस्वीरः प्रदीपराज वन्त/रासस ।

काठमाडौं, फागुन २ । राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक विकासमा युवा उद्यमशीलताको भूमिका महत्वपूर्ण रहने बताएकी छन् ।

नेपाल उद्योग परिसंघ र विशाल ग्रुपले बिहीबार काठमाडौंमा संयुक्तरुपमा गरेको ‘नेपाल उद्यमशीलता सम्मेलन’मा राष्ट्रपति भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्न र बढ्दो व्यापार घाटा कम गर्न उद्यमशीलताको विकास महत्वपूर्ण हुने बताइन् ।

नवीन सोच भएका युवाहरुमा लगानी र उद्यमशील वातावरण बनाउन सक्नुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले मुलुक समृद्ध बनाउने अभियानमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

व्यक्तिगतभन्दा पनि राष्ट्र र जनताको पक्षमा उभिएर समृद्धिको अभियानमा लाग्नुपर्नेमा उनले जोड दिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले युवाहरुलाई उद्यमशीलताप्रति आकर्षित गर्न सम्मेलन आयोजना गरिएको बताए ।

युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न पनि सम्मेलनले सघाउ पुर्‍याउने भन्दै उनले युवा उद्यमीबाट नै देश समृद्ध बनाउन सकिने बताए ।

सम्मेलनमा देशभरबाट आएका उद्यमीहरुको सहभागिता छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया