घूस खाएको आरोप लागेका अख्तियार आयुक्त पाठकले राजीनामा दिए

news

काठमाडौं । घूस खाएको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् ।

आयुक्त पाठकले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्  ।

आयुक्त पाठकले नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँडमा अनियमिततासम्बन्धी उजुरी अगाडी नबढाउने सर्तमा ९३ लाख रुपैयाँ घूस लिएको सार्वजनिक भएपछि राजीनामा दिएका हुन् ।

उनले घूस लिएको सार्वजनिक भएपछि संसद्ले समेत छानबिनमा चासो देखाएको थियो । आयुक्तको पाठकको राजीनामापछि पनि उनका बारेमा छानबिन हुने बताइएको छ ।

पाठकले मुद्दा मिलाउन लागेको आरोपमाथि संसद्ले छानबिन गर्न सक्ने भएकाले छानबिन अघि बढाउने तयारी गरेको हो ।

यसअघि सत्तारुढ दलका सांसदहरुले आयुक्त पाठकमाथि महाभियोग लगाउने तयारीसमेत गरेका थिए ।

पाठकले राजीनामा नदिए महाभियोग लगाउने तयारी नेकपाका सांसदहरुको थियो ।

तर उनले राजीनामा दिइसकेपछि अब महाभियोगको औचित्य सकिएकाले थप छानबिन भने गर्न सकिने नेकपाका सांसदहरु बताउँछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया