कश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनुपर्छ : मोदी

news

नयाँदिल्ली, फागुन ३ । भारत प्रशासित कश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतंककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ ।

भारत प्रशासित कश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशकयताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ ।

छुट्टी मनाएर काममा फर्कंदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी–साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो ।

उक्त आक्रमणमा परी करिब ४१ जना सैनिकको मृत्यु भएको थियो ।

स्थानीय सन्चारमाध्यमकाअनुसार यस आक्रमणको जैस ए–मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ ।

सैनिक सवार साधनमाथि स्थानीय लडाकू आदिल अहमदले आत्मघाती आक्रमण गरेको बताइएको छ ।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि कश्मिरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो ।

आणविक हतियार भएका भारत र पाकिस्तानबीच कश्मिरको विषयलाई लिएर तीनपटक युद्ध भइसकेको छ ।

मसुद अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद आतंककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंककारी समूह र उनका मालिकहरुले ठूलो गल्ती गरेका र यसको मूल्य चुकाउनुपर्ने बताएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कुरा बताएका हुन् । तर, उनले के कारबाही गर्ने भन्नेबारेमा केही बताएनन् ।

‘हाम्रा छिमेकी मुलुकले हाम्रो देशमा यस्ता घृणित कार्य र छलकपटमार्फत् अस्थिरता सिर्जना गर्दछु भन्ने सोचेको भए त्यो उनीहरुको दुःस्वप्नमात्र हो । तिनीहरु कहिल्यै सफल हुने छैनन्’–प्रधानमन्त्री मोदीले भने ।

वित्तमन्त्री अरुण जेट्लीलेसमेत यस आक्रमणमा पाकिस्तानको संलग्नता रहेकामा कुनै आशंका नरहेको बताए ।

उनले पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट पूर्णरुपमा अलग्याउन भारतले सबै किसिमका प्रयत्न गर्ने पनि जानकारी दिए ।

पाकिस्तानले भने भारतको दाबी असत्य रहेको जनाएको छ ।

‘भारतीय सन्चारमाध्यम र सरकारले कश्मिर आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भनी गरिएको दाबी असत्य छ र कुनै किसिमको अनुसन्धानबेगर पाकिस्तानविरुद्ध भारतले आरोप लगाउनु दुःखद हो’–पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्तराज्य अमेरिकाले पनि कश्मिर घटनाको भर्त्सना गर्दै सबै मुलुकले ‘आतंककारीहरुलाई सुरक्षित स्थान उपलब्ध गराउने र मद्दत गर्ने कार्यहरु बन्द गर्न’ आग्रह गरेको छ ।

केन्द्रीय प्रहरी बल (सीआरपीएफ)का जवान बोकेका दुईओटा नीला बस आक्रमणको निशानामा परेका थिए ।

विस्फोटक पदार्थले भरिएको भ्यानले गरिएको आत्मघाती आक्रमणको आवाज धेरै माइल टाढासम्म सुनिएको थियो ।

‘पहिलो बसमा सबार सबैजसो जवानको मृत्यु भयो’ नाम नबताउने शर्तमा एकजना उच्च प्रहरी अधिकारीले बताए । रासस/एएफपी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया