मन्त्री बिना मगरको बर्षदिन: मेलम्चीकै पछिपछि दौडेर वित्यो (भिडियो)

news

-प्रतिक्षा खनाल र राममान डंगोल(ईमेज)

काठमाडौं । केपी ओली नेतृत्वको सरकारको एकवर्षे समीक्षामा अब खानेपानी तथा सरसफाई मन्त्रालय ।

सरकारको एक बर्षे कार्यकालको दौरान खानेपानी तथा सरसफाई मन्त्रालय मेलम्ची खानेपानी आयोजनका कारण चर्चामा रह्यो ।

काठमाडौंबासीको सपनाको रुपमा मेलम्ची खानेपानी आयोजना सरकारको एकवर्ष पुग्दै गर्दा भने फेरि अनिश्चित बनेको छ ।

सरकारको एक वर्षे कार्यकालमा खानेपानी तथा सरसफाई मन्त्रालय मेलम्ची खानेपानी आयोजनाको विवादले चर्चामा रह्योे ।

बिना मगरले २०७४ चैत्र २ गतेबाट वर्तमान सरकारको खानेपानी तथा सरसफाई मन्त्रालयको कार्यभार सम्हालेकी हुन् ।

कार्यभार सम्हालेको एक वर्ष वितिसक्दा जनताले खानेपानी तथा सरसफाईको क्षेत्रमा उल्लेखनीय उपलब्धिको अनुभुती भने गर्न पाएनन् ।

सरकारकी कान्छी मन्त्री बिना मगरले मन्त्री भएको एक साता नबित्दै गत दशैंसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने घोषणा गरिन् ।

काकाकुल जस्तै बनेका काठमाडौं उपत्यकाबासी मेलम्चीको पानी निकट भविष्यमा घरघरमा आउने खबरले उत्साहित पनि बने । तर दशैंमा उपत्यकाबासीका धारामा पानी आएन ।

मेलम्ची आयोजना अन्र्तगत पाइपलाइन बिछ्याउने कार्य धमाधम भएकाले जनताको आशा भने मारेनन् ।

तर ईटालियन कम्पनी सीएमसीसँगको मेलम्चीको ठेक्का रद्द भएपछि मेलम्ची खानेपानी आयोजना अन्योलमा परेको छ ।

ठेक्का  औपचारिक रुपमा अन्त्य भएपनि उचित योजनाका साथ छिटो भन्दा छिटो मेलम्चीको पानी काठमाडौं ल्याउन मन्त्रालयले आवश्यक पहल गरिरहेको मन्त्रालयका सचिव गजेन्द्र ठाकुर बताउँछन् ।

सचिव ठाकुरले खानेपानी तथा सरसफाइको क्षेत्रमा केहि उल्लेख्य उपलब्धि हासिल गर्न मन्त्रालय सफल भएको दावी समेत गरेका छन् ।

यस आर्थिक बर्षका लागी खानेपानी क्षेत्रमा २४ अर्ब ५ करोड ७५ लाख विनियोजन गरिएको थियो ।

मन्त्री बिना मगरले हिमतालको पानीलाई एभरेष्ट वाटरका रुपमा अन्तर्राष्ट्रिय बजार सम्म पुर्‍याउने, ०७५ साललाई राष्ट्रिय सरसफाई वर्षको रुपमा काम गर्ने,  बाग्मतीमा र्‍याफ्टिङ र स्विमिङ गर्न सक्ने वातावरण बनाउने लगायतका महत्वाकांक्षी घोषणा गरे ।

तर घोषणा अनुरुप कार्य भने सुरु भएको छैन । युवामन्त्री मगरले चाहेमा गर्न नसक्ने पनि होइन तर उनी क्षमताले भन्दा नेकपा अध्यक्ष प्रचण्डसँगको पारिवारिक नाताका कारण मन्त्री बनेको भन्ने जुन आरोप थियो त्यसवाट बाहिर निस्कन भने सकेका छैनन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...