अर्घाखाँची जिल्ला अस्पताल जीर्ण र अस्तव्यस्त बन्दै

news

-सागर महत/ ईमेज

अर्घाखाँची । स्थापनाको तीन दशक बितिसक्दा पनि जिल्ला अस्पताल अर्घाखाँचीको भौतिक संरचना र सेवासुविधा विस्तार हुन सकेको छैन ।

जिल्लाका जनप्रतिनिधिले अस्पतालको सेवा सुविधा वृद्धि गर्न पहल नगर्दा सामान्य बिरामी हुँदा समेत अन्यत्रै जानुपर्दा बाध्यता जिल्लावासीमा छ ।

अर्घाखाँचीका वासिन्दा गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्जित भइरहेका छन् ।

अस्पतालको  दुदर्शा र जनप्रतिनिधिको बेवास्ताका कारण स्तरीय स्वास्थ्य सेवासुविधा पुग्न सकेको छैन ।

वि.सं २०४५ सालमा निर्माण भएको सन्धिखर्क अस्पतालमा अहिलेसम्म न कुनै संरचना थपिएको न त थप सेवा विस्तार नै भएको छ ।

बरु अस्पताल झन् झन् जीर्ण र अस्तव्यस्त बन्दै गएको छ । १५ शैया रहेको अस्पताललाई ५० शैयामा पुर्‍याउने नारा दिइए पनि अहिलेसम्म त्यो पुरा हुन सकेको छैन ।

स्थानीयबासीले जिल्ला अस्पताल अर्घाखाँचीलाई स्तरीकृत र सुविधासम्पन्न गराउन पटकपटक माग गर्दै आए पनि त्यसको कुनै पहल हुन सकेको छैन ।

यतिसम्मकी जिल्लाकै ठूलो भनिने अस्पतालमा ब्लड बैँक पनि छैन एक्सरे मेसिन पनि पुरानो र सादा मात्र छ  ।

केही जटिल रोगको उपचार गर्न अन्यत्रै जानुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

जिल्लाबाट उत्पादन भएका नेताहरु मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्मको ओहोदामा पुगे तर जिल्ला अस्पतालको यस्तो दुदर्शाले कसैलाई नछोएको जनताले गुनासो गरेका छन् ।

दैनिकजसो झन्डै २ सय  बिरामीको चाप रहेको अस्पतालमा बेड नहुँदा भुइमै राखेर उपचार हुने गरेको छ ।

यी र यस्तै अवस्थाबाट गुज्रिएको अस्पतालबाट सेवाग्राहीलाई परेको मर्काप्रति गम्भीर बन्नैपर्छ । 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...