छाउपडीको मान्यता दिनेलाई फिल्डमै कारबाही गर्ने व्यवस्था गर्न ध्यानाकर्षण

news

काठमाडौं, फागुन ५ । प्रतिनिधिसभाअन्तर्गत्को महिला तथा सामाजिक समितिले छाउपडी कुप्रथाको मान्यता दिनेलाई फिल्डमै कारबाही गर्ने कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले छाउपडीको अवस्थाबारे स्थलगत अध्ययनका लागि गएको उपसमितिले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्दै त्यस्तो ध्यानाकर्षण गराएको हो ।

सुदूरपश्चिम प्रदेशमा सामाजिक कुप्रथाकारुपमा रहेको छाउपडी अन्त्यका लागि आवश्यक सुझाव दिन गठित उपसमितिले छाड्ने छाउ वा उनका परिवारलाई तत्काल सम्मानस्वरुप पुरस्कार दिने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।

प्रतिवेदनमा उपसिमितिले छाउपडी कुप्रथा अन्त्यका लागि स्थानीय तहलाई आवश्यक बजेट, जनशक्ति र कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ ।

गत पुस २४ गते बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा बसेकी एक महिलासहित दुई बालकको मृत्यु भएपछि उक्त घटनाको स्थलगत अध्ययन गर्न र छाउपडी प्रथाको अन्त्यका लागि सुझाव पेस गर्न समितिले गत माघ १५ गते सांसद गणेशसिंह ठगुन्नाको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया