प्रदेश ३ सरकारको एक वर्ष कस्तो रह्यो ! (भिडियो)

news

हेटौंडा, फागुन ७ । प्रदेश नम्बर ३ सरकारले आफ्नो कार्यकालको एक वर्ष पुरा गरेको छ । संघीयता अभ्यासको चुनौतीपूर्ण अवस्थामा गठन भएको सरकारले यस अवधिमा धेरै जनचासोका विषयमा काम गर्न सकेन ।

डोरमणि पौडेलको नेतृत्वमा चुनौतीपूर्ण अवस्था र चरम नागरिक अपेक्षाबीच गठन भएको सरकार चित्तबुझ्दो रुपमा अगाडि बढ्न सकिरहेको देखिँदैन । भौतिक संरचना, कानुन र कर्मचारीको अभाव देखाउँदै अपेक्षित काम गर्न नसकिएको दाबी गरिरहेको सरकारले सुविधाजनक बहुमत हुँदाहुँदै पनि प्रदेशको नामाकरण र स्थायी राजधानी सल्टाउन असफल रह्यो । यसलाई नै कतिपयले प्रदेश सरकारको ठूलो कमजोरीका रुपमा अर्थ्याउन थालेका छन् ।

संघीय राजधानी समेत रहेको यस प्रदेशलाई धेरैले बढी चासोका साथ हेरे पनि यो प्रदेश सरकार खासै चर्चामा आउन सकेन । विकासका आधारहरु  र संगठनात्मक संरचना नभएकाले एक वर्षमै धेरै उपलब्धि खोज्न नहुने मुख्मन्त्री डोरमणि पौडेलको धारणा छ ।

अर्कोतिर कानुन निर्माणको गति भने यस प्रदेशमा तुलनात्मक रुपमा बढी देखिएको छ । यस अवधिमा २४ वटा विधेयकहरु पारित भइसकेका छन् । सामान्य रुपमा सरकारका कामकारबाही अगाडि बढ्नुबाहेक अन्य गतिविधिमा सरकारका काम उत्साहप्रद बन्न सकेका छैनन् ।

यता, प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँ भने एक वर्षसम्म सरकारको काम निराशाजनक रहेकाले आगामी दिनमा थप गम्भीर बन्नुपर्ने सुझाव दिन्छन् ।

प्रतिपक्षीमात्र होइन, जनताको तहबाट पनि सरकारको कामकारबाही निराशाजनक नै देखिएको छ । एक वर्षका अनुभव र कमजोरी सुधार्दै अबका दिनमा कामको शैली सुधार गर्दै गति परिवर्तन गर्न लाग्नु आवश्यक छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...