प्रजातन्त्र दिवसमा नातिनीलाई चिठी

news

-हरिविनोद अधिकारी

प्यारी नातिनी विश्रुता

पितामह (हजुरबा भनिन्छ तर तिमीले भन्ने गरेको ‘बाबा’)को धेरै धेरै माया 

तिम्रो कक्षा ३ को वार्षिक परीक्षा पनि आउन लाग्यो । धेरै पढ्नू र पढेको कुरा बुझेर पढ्ने बानी बसाउनू । बिहानमात्र मैले तिमीलाई विद्यालय पठाउन विद्यालयको बसमा चढाएको थिएँ अनि किन फेरि चिठी लेख्न लागेको भन्ने कुरा पनि तिमीलाई लागेको होला । मैले विहान तिमीलाई केही कुरा भन्न पनि बिर्सेको थिएँ किनभने पञ्चायतकालमा पनि प्रजातन्त्रको विरुद्धमा त्यो बेलाको सरकार लाग्दासमेत फागुन ७ गतेलाई प्रजातन्त्र दिवस भनेर सम्झन्थ्यो र त्यो दिन विद्यालयहरुमा प्रजातन्त्र दिवस मनाउन बिदा दिन्थ्यो । अहिलेको संविधानमा नै प्रजातन्त्रको बारेमा धेरै कुरा लेखिएको भए पनि फागुन ७ गतेलाई ओझेलमा पार्न थालिएकोले र बिदा नदिइएकोले विहानै हतार हतारमा तिमीलाई खाजा खुवाएर विद्यालय पठाउनु परेकोले यो चिठी लेखेर प्रजातन्त्र र प्रजातन्त्र दिवसका बारेमा केही भनौं भन्ने लाग्यो र यो चिठी लेखेको हुँ । फुर्सदमा पढ्नू तर आजै पढ्नू ।

प्रजातन्त्रका बारेमा मलाई तिमीले केही पहिले सोधेको जस्तो लाग्छ । बाबा ! २००७ सालमा के भएको थियो र ?

अनि मैले भनेको थिएँ— नातिनी, २००७ सालमा नेपालकै एउटा कुँवर वंशका जङ्गबहादुर कुँवर राणाले आफ्नो वंश राणाले मात्र श्री ५महाराज अर्थात् राजाभन्दा मुनि तर मुख्य राज्य गर्ने श्री ३ महाराज या प्रधानमन्त्री भएर राजकाज चलाउने चलन चलेको थियो विक्रम् सम्वत १९०३ देखि नै । अनि नेपालका सचेत नेपालीले यस्तो जहानियाँ शासनको विरुद्धमा बोले, लेखे र क्रान्ति नै गरेर त्यो चलनलाई अन्त्य गरे । राणा शासनको अन्त्य भएर प्रजातन्त्र स्थापना भएको दिन त्यो थियो । 

राणाको जहानियाँ शासनको  विरोध गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल जस्ता नेपालका नीडर, निर्भयी तथा जनताको अधिकार चाहने नेपाल आमाका छोराहरुलाई स्वतन्त्रता मागे, जनताको राज्यमा जनताले चुनेको मान्छेले मात्र शासन गर्न पाउनु पर्छ  भने भनेर १९९७ साल माघ महिनामा कसैलाई झुन्ड्याएर त कसैलाई गोली ठोकेर मृत्युदण्ड दिए । हामीले अहिले तिनैलाई महान सहिद भनेर मानेका छौँ । जो मुलुकको लागि मर्छ, त्यो नै सहिद हो भनेर त मैले पहिले नै भनेको थिएँ नि तिमीलाई । तर उनीहरुले जगाएको जनअधिकारको दीयोेले अरु चेतनाको दीयो जलायो र लाखौँ नेपालीहरुले उनीहरु विरुद्ध आन्दोलन गरे । राणाको अन्याय र अत्याचारलाई, उनीहरुको जहानियाँ शासनलाई अत्यन्त गम्भीरताका साथ लिएर नेपालीहरु एकजुट भए र नेपाली कांग्रेस भन्ने राजनीतिक संस्था खोले अनि राणा परिवारको एकतन्त्रीय शासनको विरुद्धमा जनक्रान्ति नै गरे २००७ साल कात्तिक २६ गतेदेखि, अनि फागुनको ७ गते त नेपालमा जनताको अधिकारसहितको खुला दिन देख्न पाइएको थियो । त्यसका मुख्य नेताहरु थिए विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद उपाध्याय भट्टराई आदि । उनीहरुले जेलको सास्ती खाए, मुलुकभित्र र मुलुकभन्दा बाहिर बसेर पनि राणाविरुद्ध जनआन्दोलन गरे र बडो मुस्किलले नेपालमा प्रजातन्त्र स्थापना गरे । राणाले आफूले जहानियाँ शासन छोडेर आम जनता भएको दिन र नेपाली जनताले नागरिक भएर सम्पूर्ण अधिकार पाएको दिन भएकाले २००७ साल फागुन ७ गतेलाई प्रजातन्त्र दिवस भनिएको हो ।

अनि तिमीलाई लाग्दो हो— प्रजातन्त्र भनेको के हो ?

त्यो कुरा मलाई पनि कहिले हो सोधेकी थियौ । प्रजातन्त्र भनौं, लोकतन्त्र भनौं कि जनतन्त्र भनौं, यी जुनसुकै तन्त्र पनि जनताका अधिकारको सुरक्षाका लागि स्थापित शासन प्रणाली हो । जनतालाई शासन गर्ने भनेको उनीहरुका लागि खाने, बस्ने, लाउने, सुरक्षा, शिक्षा र स्वास्थ्यको प्रवन्ध गर्ने शासन प्रणाली हो जसमा यो सबै गर्नका लागि जनताले चुनेका मानिसहरुले नै गर्नुपर्छ । जनतालाई जनताले मात्र शासन गर्न पाउँछन् । अर्थात् आफैँले चुनेका मानिसहरुले मात्र चुन्नेहरुको रक्षा गर्र्र्ने काम गर्नुपर्छ । यदि त्यस्तो भएन भने त्यो शासनचाहिँ प्रजातन्त्र मानिँदैन । बलजफ्ती पनि बन्दुक देखाएर र थुनेर पनि शासन गर्ने त विश्वमा छन् तर जनताले चुनेका जनप्रतिनिधिहरुले मात्र शासन गर्ने देशहरु पनि संसारमा झन्डै ८० ओटा छन् । 

तिमीले अस्तिमात्र मलाई राष्ट्रपति, प्रधानमन्त्री , सभामुख तथा प्रदेश मुख्यमन्त्रीका बारेमा सोधेकी थियौ र मैले पनि अहिलेको गणतन्त्रको बारेमा बताएको थिएँ तर प्रजातन्त्रका कारणले मात्र यी सबै व्यवस्था भएको हो भन्नचाहिँ बिर्सेको थिएँ । आज तिमीले हिँड्ने बाटो, तिमीले पढ्ने विद्यालय, तिम्रा हजुरबा, हजुरआमा, पिता, माता, काका, फुपूहरुले पढेका विद्यालयहरु, विश्वविद्यालयहरु सबै प्रजातन्त्रका देनहरु हुन् जसले सचेत नागरिक तयार गरे, आफ्ना खुट्टामा टेक्ने क्षमता विकास गर्न सघाए । अझ सबैभन्दा ठूलो कुरो त सचेत नागरिक हुने र प्रजातन्त्रका बारेमा चेतना दिने कामको थालनी नै फागुन ७ ले दिएको हो भन्नैपर्ने हुन्छ । 

एउटा सार्वकालिक सार्वभौम र स्वतन्त्र अस्तित्व भएको नेपाल राज्यमा चेतनाको नयाँ दियो बालिएको र त्यो ज्योतिले नेपाल नै झलमल भएको नयाँ विहानीको रूपमा २००७ साल फागुन ७ आएको थियो । त्यसलाई त्यसरी आँकलन गर्नु पर्दछ । त्यस दिनलाई अभिव्यक्ति स्वतन्त्रताको दृष्टिले कुनै पनि जीवित र सक्रिय देशको इतिहासको एउटा दुर्लभ दिनको रुपमा लिनुपर्छ । अभिव्यक्ति स्वतन्त्रतालाई साँघुरो घेराबाट बृहद् स्वरुपमा परिभाषित गरिएको दिन थियो र त्यसका भोलिपल्ट नै नेपालमा पहिलो दैनिक आवाज भन्ने अखबार निस्कियो, प्रजातन्त्र रेडियोले स्वतन्त्रता बोलेको दिन थियो । दलहरु स्वतन्त्र थिए र दलीय व्यवस्थाले पहिलोपटक नेपालमा वैधानिकता पाएको थियो । प्रजातन्त्रको उपभोगको प्रत्याभूति पाएको दिन थियो । स्वतन्त्र नेपालको आन्तरिक स्वतन्त्रताको झलमल्ल भएको दिन थियो । वाह्य समाजसँगको साक्षात्कारको दिन थियो ००७ सालको फागुन ७ गते ।

आजको अवस्थासम्म आउँदा के कुरा स्पष्ट भएको छ भने प्रजातन्त्र कसैको पेवा व्यवस्था होइन, सबैका लागि आवश्यक र आजसम्म अनुसन्धानबाट प्राप्त भएमध्ये सबैभन्दा जनताको सहभागितामूलक व्यवस्था यही हो । यसमा सबैको हक हित संरक्षण हुँदोरहेछ र विरोधीको सबैभन्दा महत्व हुँदोरहेछ । विरोधी भनेको सत्ताको विरोधी पनि हुनसक्छ र प्रजातन्त्रका विरोधी पनि हुन सक्छन् । त्यहाँ सबै विचारको महत्व हुन्छ र जनताले जसलाई राज्य गर्नका लागि साथ दिन्छन्, तिनले तोकिएको अवधिभर राज्य गर्न कसैले रोक्ने प्रश्न नै आउँदैन । आज विश्वभरका प्रजातन्त्रले त्यही पुष्टि गरेका छन् । एउटै मोडेलमा प्रजातान्त्रिक व्यवस्था नचल्ला, तर जनताको आदेशले मात्र चल्छ भन्ने सन्देश नै त्यसको आदर्श हो आजसम्म । मौलिक हकको प्रत्याभूतिलाई विश्वव्यापीरुपमा मान्यता दिइएको हुन्छ र नेपालमा त्यसलाई संस्कृतिको रुपमा अभ्यास गर्नुपर्छ ।

कतिपय कुराहरु तिमीले बुझ्न पनि सक्दिनौँ तर पनि प्रजातन्त्रको कुरा गर्दा भन्नै पर्ने कुरामात्र लेखेको हुँ । 

प्रजातन्त्र नभए के हुन्छ भनेर नसोच्नू, त्यो त मानवअधिकारको जननी हो । विश्वका झन्डै ८० ओटा देशहरुमा नेपालको जस्तो प्रजातन्त्र छ । नेपालमा जो जुन दलको भए पनि उसले नेपालमा प्रजातन्त्रको पक्षमा नै काम गरेको हुन्छ भनेर हाम्रो संविधानले भनेको छ । 

मैले यो चिठी पढ्न दिनु भनेर तिम्रो प्रधानाध्यापकज्यूलाई फोन गरेर भनेको छु र प्रधानध्यापकज्यूले तिम्रो इमेल खोल्न मद्दत गर्नुहुनेछ र टिफिनको समयमा यो पत्र पढ्नू र तिम्रा मनपर्ने साथीहरुलाई पनि देखाउनू र भन्नू— मान्छे भएर बाँच्नका लागि देशमा प्रजातन्त्र चाहिन्छ र सात साल फागुन ७ गते नेपालमा यो प्रजातन्त्र स्थापना भएको हो ।

अचेल त त्यस्तो दिनमा पनि राष्ट्रिय दिवस मनाइँदैन र बिदा पनि हुँदैन । बिदा नभएर केही भएको छैन तर नेपालको, नयाँ नेपालको लागि नयाँ असल दिनको सुरुवात भएको दिन नै फागुन ७ गते हो भनेर भन्नू । तिम्रा गुरु, गुरुआमा तथा साथीहरुलाई प्रजातन्त्र दिवसको शुभकामना भनेर भन्नू । 

अहिलेलाई के मात्र बुझे पुग्छ भने प्रजातन्त्रमा मात्र साधारण जनताका छोराछोरीले आफ्नो भविष्य बनाउन सक्छन् । सामान्य मानिसहरु नै अहिले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सेनापति बन्न सक्नुभएको छ किनभने प्रजातन्त्रले समानताको पक्षमा काम गरिरहेको हुन्छ । बोल्ने, लेख्ने, पढ्ने, घुम्ने, निर्वाचनमा लडेर माननीय, मन्त्री हुने अनि जनताको सेवा गर्ने मौका पाइन्छ । सबैलाई त्यो मौका विना भेदभाव प्रजातन्त्रमा मात्र पाइन्छ भन्ने कुरा तिमीले पछि आफैँ बुझ्नेछ्यौ । 

धेरै लामो चिठी लेख्यो भने पनि तिमीलाई पढ्ने फुर्सद नहोला । प्रजातन्त्रका बारेमा अरु छलफल भरे घरमा आएपछि पनि गरौँला । तिमीलाई यस सम्बन्धमा फेरि अर्कोदिन पनि यस्तै पत्र लेखेर सम्झाउने कोसिस गरौँला । अहिले यतिमात्र सम्झनू— कुनै पनि देशका जनताका लागि प्रजातन्त्र भनेको जीवनदायिनी जीवन वायु अक्सिजनजस्तै हो, त्यो नभएको देश निर्जीव देश हुन्छ ।

प्यारी नातिनी विश्रुता, तिमी सानै भए पनि धेरै कुराको जिज्ञासा राख्ने भएकीले (कक्षा तीनमा नै भए पनि) मैले यो चिठी लेखेको हुँ । तिमीले आफ्ना साथीहरुलाई पक्कै पनि प्रजातन्त्र अमर रहोस् भनेर शुभकामना व्यक्त गर्ने काम गर्नू ।

तिमीलाई सधैँ धेरै माया गर्ने हजुरबा (बाबा)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया