घुस प्रकरणपछि राजीनामा दिएका आयुक्त पाठकविरुद्ध अख्तियारले थाल्यो छानबिन

news

काठमाडौं, फागुन ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा राजीनामा दिएका आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध अनुसन्धान थालेको छ ।

आयोगले सहसचिव नेतृत्वमा तीन सदस्यीय टोली बनाएर आजदेखि अनुसन्धान सुरु गरेको हो ।

ईमेज समाचारसँग कुरा गर्दै आयोग प्रवक्ता सहसचिव रामेश्वर दंगालले पाठकविरुद्ध औपचारिक अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनले आयोगले पाठकमाथि अनुसन्धानका लागि सहसचिवको नेतृत्वमा तीन सदस्यीय विशेष अनुसन्धान समिति गठन गरिएको बताए ।

आयोगका तत्कालीन आयुक्त पाठकले चाँगुनारायाण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद सल्टाउन ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि फागुन ३ गते पदबाट राजीनामा दिएका थिए ।

यसअघि सोमबार आयोगले महान्यायाधिवक्ताको कार्यालयसँग अख्तियार आफैँले कारबाही गर्न मिल्ने या नमिल्ने सम्बन्धमा राय मागेको थियो । महान्यायाधिवक्ता अग्नि खरेलले संविधानको धारा २३९ को उपधारा २ मा भएको व्यवस्थालाई उद्धृत गर्दै त्यही प्रावधानका आधारमा पूर्वआयुक्त पाठकमाथि कारबाही अघि बढाउन सकिने राय दिएका थिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...