पर्यटन प्रवर्द्धनका लागि इलामबासी आफैं जुर्मुराए (भिडियो)

news

प्रकाश नेपाल/सन्तोष पुर्कुटी

इलाम, फागुन ७ । इलामका धेरै पर्यटकीय गन्तब्यमध्ये सन्दकपुर गाउँपालिका स्थित माईपोखरी क्षेत्र पर्यटकका लागि आकर्षक क्षेत्रको रुपमा रहेको छ । माईपोखरी र यस आसपासका पर्यटकीय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक स्थलका रुपमा रहे पनि भौतिक पूर्वाधार र प्रचार प्रसारको अभावले भने गुमनामजस्तै बनेको छ ।

इलामको माईपोखरी कञ्चनजंघा भूपरिधिभित्र पर्ने एकमात्र रामसार क्षेत्र हो । जैविक विविधताले भरिपूर्ण क्षेत्रमा अवस्थित माईपोखरी आन्तरिकमात्रै नभई बाह्य पर्यटकका लागि समेत आकर्षक स्थलको रुपमा रहेको छ । तर, यस क्षेत्रमा पर्याप्त भौतिक पूर्वाधारको विकास र प्रचार प्रसारको अभाव रहेको स्थानीय बताउँछन् ।

माईपोखरी आसपासमा समेत घुम्न र दृष्यावलोकनका लागि दर्जनौं पर्यटकीय क्षेत्र छन् । यी क्षेत्रसमेत प्रचार प्रसारको अभावमा छन् ।

पर्यटन प्रवर्द्धनका हिसावले प्रशस्त सम्भावना बोकेको यस क्षेत्रमा राज्यको न्युन उपस्थिति रहेका बेला पर्यटकको लाम लगाउने उद्देश्यसहित स्थानीयले भने माईपोखरी देउराली सामुदायिक होमस्टे सञ्चालनमा ल्याएर पर्यटकलाई आकर्षित गर्न थालेका छन् । यस क्षेत्रमा अहिले १० वटा होमस्टे संचालनमा छन्, जसमा ८० जनासम्म बस्न सक्छन् ।

होमस्टेमा कञ्चनजंघा भूपरिधि संरक्षण तथा विकास पहल नेपालले समेत सघाउँदै आएको छ । होमस्टे संचालकहरुको क्षमता अभिवृद्धि गराउनु आफूहरुको उद्देश्य रहेको कञ्चनजंघा भूपरिधि संरक्षण तथा विकास पहल नेपालका कार्यक्रम संयोजक डा. यादव उप्रेती बताउँछन् ।

सानो क्षेत्रफलमा नै दर्जनौं पर्यटकीय गन्तब्य रहेकाले पनि यो क्षेत्र पर्यटन प्रवर्द्धनका हिसाबले अब्बल देखिएको छ । स्थानीय आफैंले पर्यटन प्रवर्द्धनका लागि चासो देखाउन थालेका बेला यहाँको भौतिक पूर्वाधारको विकास र प्रचार प्रसारका लागि राज्यले बाक्लो उपस्थिति देखाउन सके स्थानीयको आयआर्जनमा वृद्धि हुनुका साथै मुलुककै पर्यटन विकासमा टेवा पुग्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...