स्वास्थ्य व्यवसायी परिषदले १३ वर्षदेखि पूर्णता पाउन सकेन

news

प्रज्ञा तिमल्सिना र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, फागुन १२ । २०५३ सालमा गठन भएको नेपाल स्वास्थ्य व्यवसायी परिषदले १३ वर्षदेखि पूर्णता पाउन सकेको छैन ।

स्वास्थ्यअन्तर्गत्का ३२ विधामा अध्ययन गरेकाहरुलाई लाइसेन्स दिने र कलेज अनुगमनको जिम्मेवारी पाएको परिषदमा तीन सदस्यसहित पाँचजनाकोमात्र कार्यसमिति गठन भएको छ । जसका कारण परिषदको काम प्रभावकारी हुन सकेको छैन ।

स्वास्थ्य व्यवसायी परिषद ऐन २०५३ अनुसार परिषदमा १३ सदस्यीय कार्यसमिति गठन हुनुपर्ने प्रावधान छ ।

तर, परिषदले पूर्णता पाउन नसकेपछि परिषदले स्वास्थ्य क्षेत्रका विभिन्न विधामा अध्ययन गरेकाहरुलाई दिने लाइसेन्समाथि नै प्रश्न उठ्न थालेको हो ।

प्रमाणपत्र तहदेखि पीएचडी तहसम्म चिकित्सा शिक्षा पढेका वार्षिक करिब १५ हजारलाई लाइसेन्स दिँदै आएको परिषदले हालसम्म एक लाख १० हजारभन्दा बढीलाई लाइसेन्स दिइसकेको छ ।

तर, परिषदका अध्यक्ष रामप्रसाद भण्डारी परिषदले पूर्णता पाउन नसकेका कारण कलेजहरुको अनुगमन राम्रोसँग हुन नसकेको र लाइसेन्स प्रणालीलाई चुस्त पार्न नसकेको स्वीकार गर्छन् ।

परिषदले गरेको कामबारे प्रश्न उठाउँदै आन्दोलनमा उत्रिएका स्वास्थ्य व्यवसायीहरुले सबै विषयको प्रतिनिधिसहित परिषद गठन हुनुपर्ने माग गरेका छन् ।

यस्ता विषयको अध्ययन हुने नेपालमा २१८ ओटा शैक्षिक संस्था छन् । ती संस्थाहरुको अनुगमन गर्ने, मापदन्ड पुगे/नपुगेको निरीक्षण गर्ने र मापदन्ड नपुगेका संस्थालाई कारबाहीको सिफारिससमेत परिषदले गर्नुपर्ने व्यवस्था छ ।

तर, परिषद्ले वार्षिकरुपमा ती संस्थाहरुको निरीक्षण नै नगरी ५० हजार अनुगमन शुल्क भने लिइरहेको छ ।

परिषदका रजिस्टार वसन्त अधिकारीले पोखरा र चितवनमा कलेजहरुको अनुगमन भएको र धेरैमा मापदन्ड नपुगेको पाइएको जानकारी दिए ।

यस्तै, विनालाइसेन्स र विषयगत दक्षताको अभावमै चिकित्सा सेवामा संलग्न भएकाहरुविरुद्ध परिषदमा उजुरीसमेत परेको थियो । तर, त्यसविरुद्ध परिषदले कुनै कारबाही गर्न सकेको छैन ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...