पाटन विमानस्थल कालोपत्रे गर्न ढिलाइ

news

बैतडी । बैतडीको पाटन विमानस्थल कालोपत्रे गर्न ढिलाइ भएको छ ।

यही चैतभित्रै कालोपत्रे गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन ।

गत असारमा सक्ने लक्ष्यसहित निर्माण सुरु गरिएको यो विमानस्थल कालोपत्रे गर्ने कार्य समयमै नसकिँदा स्थानीयवासी निराश भएका छन् ।

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा कटिङ, फिटिङ र सवबेसको काम सकिएको नागरिक उडड्यन प्राधिकरणका इन्जिनियर कविता भट्टले बताइन ।

विमानस्थल स्तरोन्नति गर्ने कार्यअन्तर्गत बेस र सवबेसको काम सकिएर अब कालोपत्रेको काम मात्रै बाँकी रहेको भट्टको भनाइ छ ।

२०७३ साल चैतमा सम्झौता भएर विमानस्थल पुनर्निर्माणको काम सुरु भएको थियो । सुरुको सम्झौता अनुसार असारमा काम सक्नुपर्ने थियो ।

तर सम्झौता सकिएको ८ महिना हुँदा पनि विमानस्थल कालोपत्रे हुन नसकेको हो ।

पाटन विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाईको एप्रोन कालोपत्रे गरिनेछ ।

यसका लागि मूल्य अभिवृद्धि करबाहेक ११ करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...