नेपाल र जापान सरकारबीच श्रम सम्झौताः न्यूनतम तलब दुई लाख रुपैयाँ

news

नेपाल र जापान सरकारबीच श्रम सम्झौता भएको छ । ललितपुरस्थित होटेल हिमालयमा दुई देशबीच कामदार लैजाने विषयमा श्रम सम्झौता भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा दुई देशबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा हस्ताक्षर भएको हो ।
नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सहसचिव डा.रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सम्झौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रममा श्रम मन्त्री गोकर्ण बिष्ट पनि उपस्थित थिए ।
हस्ताक्षर पछि मन्त्री बिष्टले जापान नेपाली श्रमिकका लागि आकर्षक र रुचीपूर्ण गन्तब्य भएको भन्दै समझदारीका लागि जापान सरकारलाई धन्यवाद दिए ।
अब जापान पठाउन श्रम मन्त्रालय अन्तरगत छुट्टै इकाई राखिनेछ । सरकारीस्तरबाटै संयन्त्र खडा गरेर कामदार पठाउन दुबै देश सहमत भएका हुन् । कामदार नठगिउन् भन्नाका लागि सरकारले कोरिया श्रम मोडलमै कामदार पठाउन लागेको हो ।
दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी आउँदो अप्रिल १ देखि कार्यान्वयन हुनेछ । अहिले चलिरहेको कोरिया श्रम मोडलमै जापानले पनि नेपाली कामदार लैजाने छ ।
भाषा परीक्षामार्फत् जापान जाने कामदारलाई न्यूनतम दुई लाख रुपैयाँ तलब दिइने पनि समझदारी गरिएको छ ।
नेपाली कामदारले १४ औद्योगिक क्षेत्रसहित नर्सिङ, निर्माण तथा सरसफाइमा काम पाउने छन् । जुन जापानी वैदेशिक श्रम नीति अन्तर्गत हुनेछ ।
जापानको पछिल्लो नीतिमा पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार १ सय ५० विदेशी कामदार लैजाने तयारी गरेको छ । जसमा ६० हजार नर्स, रेष्टुरेण्ट क्षेत्रमा ५३ हजार कामदार हुनेछन् ।
जापानले नेपालका अतिरिक्त भियतनाम, चीन, फिलिपिन्स, इण्डोनेसिया, थाइल्याण्ड, म्यानमार, कम्बोडिया र मंगोलियाबाट कामदार लिने जनाएको छ ।
चिसोको समयमा नर्सहरुले अस्पताल छाड्ने समस्या बढेपछि प्रधानमन्त्री सिन्जो आबेले विदेशी कामदार ल्याउन निर्देशन दिएका थिए ।
नेपालले जापान जान धेरै आर्थिक भार पार्न नहुने, कामदारको स्वास्थ्य, सुरक्षा सुनिश्चितता, अन्तर्राष्ट्रियस्तरको सेवासुविधा पाउनुपर्ने प्रस्ताव राखेको छ ।
भिसाका लागि कामदारले अनिवार्य सीपसहितको भाषा परीक्षा उत्तीर्ण गर्नुपर्नेछ ।
गत माघ २ गते नेपाल र जापानका प्राविधिक टोलिबीच नेपालले सरकार मार्फत कामदार पठाउने प्रस्ताव राखेको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...