सम्बन्ध जोड्ने सामाजिक सञ्जालले तोड्न पनि थाल्यो

news

दीपक श्रेष्ठ र सुन्दर गुरुङ (इमेज)

काठमाडौं, चैत १४ । पछिल्लो समय सामाजिक सञ्जाल समाजका लागि नै चुनौती बन्दै गएको छ ।

सामाजिक सञ्जालले सम्बन्धलाई जोडेकोमात्र होइन, तोडेको पनि छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दा निम्तिएका घटनाले अब सतर्कता अपनाउन ढिलो गर्न नहुने सन्देश दिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको संख्या दैनिक बढ्दो छ । मानिसहरु घन्टौं सामाजिक सञ्जालमा झुम्मिने गरेका छन् ।

फेसबुक, ट्वीटर, इन्टाग्राम धेरैका लागि आदत बनिसकेका छन् । यी माध्यम आफैंमा खराब छैनन् । किनभने कतिपयले यसैको सहारामा सामाजिक सेवाका कामहरु पनि गरिरहेका छन् ।

कतिले जीवनदान पाएका छन् । कसैको भविष्य उज्ज्वल भएको छ । तर, अर्काथरी छन्, जसले सामाजिक सञ्जालको व्यापक दुरुपयोग गरेर आपराधिक गतिविधितिर उन्मुख भएका छन् ।

सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुले सामाजलाई आतंकित तुल्याएका छन् । यसकै कारण केहीले आत्महत्याको बाटो रोजेका छन् भने कोही समाजबाट पलायन भएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता केदार ढकालकाअनुसार यो आर्थिक वर्षको फागुन मसान्तसम्म सामाजिक सञ्जालसँग सम्बन्धित १२ सय १९ उजुरी परेको छ । जुन  गत वर्षकोभन्दा २५ प्रतिशतले बढेको छ ।

पीडितहरुमध्ये २० वर्षमुनिदेखि ६० वर्षसम्मका व्यक्तिहरु रहेका छन् । धेरै उजुरी फेसबुकबाट पीडितहरुको छ ।

सामाजिक सञ्जालको दुस्प्रभाव दाम्पत्य सम्बन्धमा पनि पर्दै गएको छ । हुन त कतिपयले फेसबुकबाटै परिचित भइ विवाह पनि नगरेका होइनन् । तर, अहिले दम्पतीको सम्बन्धमा खटपट ल्याउनेमा सामाजिक सञ्जाल पनि कारक बनेको छ ।

पत्याउन गाह्रो पर्छ, अहिले सम्बन्धबिच्छेदको एक कारणमध्ये सामाजिक सञ्जाल अग्रपंक्तिमा देखिन थालेको छ ।

‘पार्टनर’ले सामाजिक सञ्जालमा पोस्ट गर्ने सामग्री, फोटो आदिले पनि दाम्पत्य सम्बन्ध चिरा पार्ने कारण बनेको छ ।

किशोर–किशोरीहरु सामाजिक सञ्जालमा हुने अपराधको शिकार बन्ने खतरा बढी रहेकाले सन्तानहरुप्रतिको निगरानीको आवश्यकता बढेको प्रवक्ता ढकाल बताउँछन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...