जनकपुर बमकान्डः पूर्वराज्यमन्त्री सन्जय साहसहित सातजनालाई जन्मकैद

news

जनकपुरधाम, चैत १४ । धनुषा जिल्ला अदालतले जनकपुरको रामानन्दचोकमा २०६९ साल वैशाख १८ गते गराइएको बम विस्फोटमा पूर्वराज्यमन्त्री सन्जय साहलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

बिहीबार जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले तत्कालीन सभासद साहसहित सातजनालाई जन्मकैदको सजाय सुनाएको स्रेस्तेदार राधाकान्त झाले जानकारी दिए ।

जन्मकैदको सजाय पाउनेहरुमा प्रमुख योजनाकार भनिएका सन्जय साह, अर्जुन सिंह ‘विद्यार्थी’ भनिने मुकेश चौधरी, ‘राजनमुक्ति’ भनिने रन्जित झा, जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण र रिपेन्द झा रहेका छन् ।

यस्तै, ओमप्रकाश यादवलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । सुजितकुमार पाण्डेले भने सफाइ पाएका छन् ।

जनकपुर बमकान्डमा मुख्य अभियुक्त मानिएका साह पाँच वर्षदेखि थुनामा रहेका छन् । उनी हाल नख्खु कारागारमा छन् ।

यस्तो थियो घटना

२०६९ वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा बम विस्फोट गराइँदा पाँचजनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए ।

सो विस्फोटमा परी कलाकार रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो । 

अरु आरोप

सञ्जय साहमाथि जनकपुरका सन्चारउद्यमी अरुणकुमार सिंघानियाको हत्या गरेको आरोप पनि रहेको छ ।

यस्तै, साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवैध सम्पत्ति आर्जनमा पनि विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा साह धनुषा क्षेत्र नम्बर–४ बाट र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा धनुषा–३ बाट निर्वाचित भएका थिए ।

०६४ मा संघीय समाजवादी फोरम र ०७० मा सद्भावना पार्टीबाट चुनाव जितेका उनी पहिलो संविधानसभाकैक्रममा फोरम लोकतान्त्रिकबाट भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्रीसमेत बनेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...