रक्तसंचार केन्द्र कालिमाटीमा सर्‍यो

news

काठमाडौं, चैत १७ । भूकम्पपछि ललितपुरको बालकुमारीबाट सञ्चालन हुँदै आएको रक्तसञ्चार केन्द्र आजदेखि नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कालिमाटी परिसरमा सरेको छ ।

थाइल्यान्ड सरकारको १ करोड ७५ लाख रुपैयाँको सहयोगमा भवन निर्माण गरिएको हो । रक्तसञ्चार केन्द्र १ बर्षसम्म कालीमाटीबाट सञ्चालनमा आउने छ ।

रक्तदान गर्न र रगत लिन आउनेलाई सहज होस् भन्ने उद्देश्यले ललितपुरको बालकुमारीमा रहेको रक्तसञ्चार केन्द्रलाई कालिमाटी सारिएको छ । भृकुटीमण्डमा रहेको रक्तसञ्चार केन्द्र भूकम्पका कारण पूर्ण रुपमा क्षति भएपछि ललितपुरको बालकुमारी सारिएको थियो ।

तीन बर्षसम्म बालकुमारीमा रहेको केन्द्रबारे धेरैलाई जानकारीसमेत थिएन । बालकुमारीमा सार्वजनिक यातायातको सहज आवागमन नहुँदा रक्तदान र रगत लिन जान नै समस्या भएको जनगुनासो बढ्दै गएको थियो । अब भने रेडक्रस सोसाइटीको भवनबाट सञ्चालनमा आएपछि मानिसलाई केही सहयोग पुग्ने विश्वास लिइएको छ ।

रक्तसञ्चार केन्द्र यहाँ १ बर्ष मात्रै सञ्चालन हुने छ । भृकुटीमण्डपमा निर्माण भइरहेको भवन तयार भएपछि रक्तसञ्चार केन्द्र भृकुटीमण्डपबाटै आफ्नो काम थाल्ने छ । रक्तसञ्चार केन्द्रमा हाल दैनिक २ सय युनिट रगत संकलन हँुदै आएको छ । माग भने ३ सय युनिटसम्मको रहेको छ ।

केन्द्रकी अध्यक्ष डा.मनिताराज मणिकारले भने अस्पतालमा कति रगत आवश्यक हो भन्ने जानकारी नै नआउने गरेका कारण अभावको समस्या आएको बताइन् ।

एक स्वस्थ व्यक्तिले बर्षमा चार पटकसम्म रक्तदान गर्न सक्छन् । गम्भीर प्रकृतिका बिरामीका लागि अत्यावश्यक हुने रगतलाई सहजै पाउने व्यवस्था मिलाउन रक्तसंचार केन्द्रले थप पहल गर्न आवश्यक छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...