त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलो सुनसहित चार भारतीय पक्राउ

news
फाइल तस्वीर ।

काठमाडौं, चैत २२ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पाँच किलो ८१४ ग्राम सुनसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

थाइल्यान्डको बैंककबाट नेपाल आएका चार भारतीयबाट सो परिमाणको सुनको गहना बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

पक्राउ पर्नेमा जतीन जैन, सुनिता, बविता गार्ग र सरिता जैन रहेका छन् ।

थाइ एअरबाट नेपाल आएका उनीहरुले आवश्यकभन्दा बढी गरगहना लगाएको देखेपछि प्रहरीले चारैजनालाई पक्राउ गरेको हो ।

प्रहरीले करिब रु दुई करोड ९६ लाख ८ हजार मूल्य बराबरको सुन बरामद गरेको हो ।

प्रहरीकाअनुसार जतिनबाट एउटा बाला र एउटा सिक्री, सुनिताबाट ६ थान बाला र सिक्री दुईथान, बविताबाट ६ थान बाला र दुईथान सिक्री तथा सरिताबाट ६ थान बाला र दुईथान सिक्री बरामद गरिएको हो ।

पक्राउ परेकालाई अहिले गौशालास्थित प्रहरी वृत्तमा राखी अनुसन्धान भइरहेको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...