समायोजनविरुद्ध सरकारी चिकित्सकहरु आन्दोलित, आकस्मिकबाहेकका सेवा बहिस्कार

news

काठमाडौं, चैत २२ । सरकारी चिकित्सकहरुले आफूहरूलाई संघीय सरकारको मातहत राख्न माग गर्दै शुक्रबारदेखि आकस्मिकबाहेकका स्वास्थ्य सेवा बहिस्कार गरेका छन् ।

सरकारी चिकित्सकहरुले हावाहुरीबाट प्रभावित बारा र पर्साबाहेकका सबै जिल्लाको स्वास्थ्य सेवा बहिस्कार गरेका हुन् ।

सरकारले सरकारी चिकित्सकलाई निजामती कर्मचारीजस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि उनीहरू आन्दोलित भएका हुन् ।

सरकारी चिकित्सक संघ (गोदान)ले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुनेगरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग गरेको छ । माग पूरा नभएसम्म चिकित्सा सेवा बहिस्कार गर्ने संघले चेतावनी दिएको छ ।

मुलुकभर करिब १४ सय सरकारी चिकित्सक छन् ।

सरकारी चिकित्सकलाई अवैज्ञानिक र असमान समायोजन गरी स्थानीय तहमा कनिष्ठ कर्मचारी मातहत राख्ने व्यवस्था गरेको, अध्ययन तथा वृत्तिविकासमा अप्रत्यक्ष अवरोध सिर्जना गरिएको आरोप गोदानले लगाएको छ ।

सरकारी चिकित्सकले समायोजनपत्र नबुझ्नेसमेत अडान लिएका छन् ।

चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले पनि गोदानको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...