घना जंगल मासेर प्रदेश राजधानीः पर्यावरणमा गम्भीर असर

news

विराज रोस्यारा/ईमेज

कैलाली । सुदूरपश्चिम प्रदेश स्थायी राजधानी घोषित कैलालीको गोदावरी नगरपालिकाअन्तर्गतको जंगल क्षेत्रमा राजधानी बनाए पर्यावरणमा गम्भीर असर गर्ने भन्दै वातावरणविद्ले चिन्ता प्रकट गरेका छन् ।

घना जंगल भएको ठाउँमा राजधानी बनाउँदा ठूलो मात्रामा रुखविरुवा नोक्सान हुने भन्दै अन्य ठाउँको विकल्प खोज्नुपर्नेमा उनीहरुको सुझाव छ ।

गत असोज १२ गतेको सुदुरपश्चिम प्रदेशको प्रदेशसभाको २ तिहाइ बहुमतले स्थायी राजधानीको लागि गोदावरी नगरपालिका वडा नम्वर २ को जंगल क्षेत्र तोकेको थियो ।

यस क्षेत्रमा राजधानी बनाउँदा पर्यावरणीय असन्तुलनको अवस्था देखा पर्न सक्ने वन तथा वातावरणविद्ले बताएका छन् ।

संसारभर वातावरणलाई नविगारिकन विकास गर्नुपर्ने मान्यता विकसित भइरहेको अवस्थामा जंगलको बीचमा राजधानी बनाउने घोषणा गर्नुले सरकार वातावरणप्रति संवेदनशील नभएको वातावरणविज्ञ प्रभु बुढाथोकीको टिप्पणी छ ।

त्यस्तै तेघरीको जंगललाई बुट्यान क्षेत्र भनेर अफबाह फैलाएको भन्दै जंगल मासेर राजधानी बनाउने परिकल्पना गर्नु मुर्खता रहेको वातावरण तथा वन संरक्षण समितिका पूर्व सभापति जनकराज चौधरी बताउँछन् ।

गर्मीको समयमा यहाँका वन्यजन्तुको पानी पिउने स्रोत गोदावरी नदी भएको बताउँदै यस क्षेत्रको जंगल संरक्षण नगरे मरुभूमीकरण हुन सक्ने वनविज्ञ रमेश चन्दको भनाइ छ ।

उता सुदुर पश्चिम प्रदेशका कानुनमन्त्री प्रकाश साह भने गोदावरीमा बन्न लागेको राजधानीका कारण पर्यावरणमा कुनै असर नपर्ने दाबी गर्छन ।

बुट्यान भएका क्षेत्रमा मात्र भवन बनाउने र बाँकी जंगललाई यथावत राख्ने गरी संरचना बनाउने तयारी गरेको उनको भनाइ छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...