नदीमा जलस्तर बढेपछि दुई सय घर परिवार विस्थापित

news

बग्दाद, चैत २४ । इराकको पूर्वी क्षेत्रमा रहेको नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका बासिन्दालाई अन्यत्र सारिएको छ । 

दियाला नदीमा बाढी आएपछि दुई गाउँका दुई सय घर परिवारलाई शनिबार अन्यत्र सारिएको अधिकारीहरुले जनाएका छन् ।

दियाला प्रदेशको राजधानी बकुवादेखि उत्तरतर्फ पर्ने खार्नाबाट र हुवेडेर गाउँका बासिन्दालाई सारिएको बाकुवाका नगर प्रमुख अब्दुल्लाह अल हैयाल्यले जानकारी दिए । विगत केही दिनदेखि त्यस क्षेत्रमा वर्षा भएर बाढी आइरहेकाले उनीहरुलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।

इरानसँगको सीमा क्षेत्रमा पर्ने इराकको पूर्वी र दक्षिणी क्षेत्रका धेरै ठाउँमा यसको प्रभाव परेको छ । इरानको पश्चिमी क्षेत्रमा पनि अत्यधिक वर्षा र बाढी आएको अधिकारीहरुले जनाएका छन् । दियालाको प्रान्तीय परिषद्का सदस्य खुधेर अल ओबैडीले प्रान्तको पाँचवटै बाँध भत्किएको बताए ।

उनले धेरै वर्षपछि यस्तो भएको जानकारी दिए । ‘मान्दाली, क्वाजान्या, हिम्रिन, अल अधैम र अल वान्ड बाँधमा क्षमता भन्दा बढी पानी आएपछि बाँध नाघेर पानी बहेको छ,’ अल ओबैडीले भने ।

बाढी नियन्त्रण गर्न र विस्थापितहरुको व्यवस्थापनका लागि इराकका प्रधानमन्त्री अडेल अब्दुल माहदीले आपतकालीन बैठक आयोजना गरेका छन् । (रासस/सिन्ह्वा)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...