रुवाण्डा : एउटा दर्दनाक नरसंहारको २५ वर्ष

news

काठमाडौं, चैत २४ । रुवाण्डा पश्चिम अफ्रिकी मुलुक । यो पनि नेपालजस्तै भूपरिवेष्टित रहेको छ । रुवाण्डा जातीयताको नाममा मच्चाइएको नरसंहारको कालो अतितको २५ औं वर्षगाँठ मनाउँदैछ यति बेला ।

आठ लाख मानिसलाई एउटै चिहान बनाउने उक्त जातीय नरसंहार बीसौं शताब्दीमा मानव जातिकै लागि एउटा कलंक थियो । 

त्यही देश आज अफ्रिकाकै सिंगापुरका रुपमा विकास हुँदैछ । युद्ध अन्त्यपछि रुवाण्डामा हाल भइरहेको विकास सारा विश्वका लागि लोभलाग्दो ठहर्दैछ । 

के हो रुवाण्डा नरसंहार ? कुन सनकमा कसरी फैलियो जातीय नरसंहारको आगो ?

रुवाण्डा नरसंहारलाई तुत्सी जातिविरुद्धको नरसंहारका रुपमा पनि जानिन्छ । हुतु बहुमत सरकारले अल्पसंख्यक तुत्सी जातिमाथि गरिएको सामुहिक हत्याकाण्ड थियो त्यो । 

सन् १९९४ को अप्रिल ६ देखि मध्य जुलाईसम्मको सय दिनमा करीब आठ लाख रुवाण्डाली नागरिकको कत्लेआम गरिएको थियो । त्यतिबेला रुवाण्डामा ८५ प्रतिशत हुतु, १४ प्रतिशत तुसी र १ प्रतिशत तावा जाती थिए ।

पावल कागामे नेतृत्वको तुत्सी–समर्थित र सशस्त्रधारी रुवाण्डा देशभक्त मोर्चा (रुवाण्डा प्याट्रियोटिक फ्रन्ट–आरपीएफ) ले देश नियन्त्रणमा लिएपछि बल्ल यो कहालिलाग्दो कत्लेआमको अन्त्य भयो । यसैको परिणाम करीब दुई लाख हुतु रुवाण्डेली विस्थापित बन्न परेको छ । 

नरसंहारको योजना राष्ट्रिय सरकारको शीर्ष स्थान कब्जा गरेर बसेका राजनीतिक कुलीन सदस्यहरुले बनाएका थिए । नरसंहार मच्चाउन सरकार समर्थित मिलिशिया प्रयोग गरिएको थियो । 

सन् १९९० मा हुतु नेतृत्वको सरकार र रुवाण्डा देशभक्त मोर्चा, जसमा विभिन्न देशमा छरिएर बसेका तुत्सीहरुबीच भएको गृहयुद्ध नै यो नरसंहारको पृष्ठभूमि बनेको थियो । 

जातीय नरसंहारको आगो लगाउने कारण बनेको यो घटना

सन् १९९४ अप्रिल ६ का दिन किगाली विमानस्थल नजिक तत्कालिन हुतु राष्ट्रपति जुभेनल ह्ब्यारिमान र बुरुन्डीका रास्ट्रपति सिप्रिन नटारामीरा सवार विमानमा मिसाइल प्रहार गरियो । उक्त घटनामा राष्ट्रपति ह्ब्यारिमानको मृत्यु भयो । यो घटनाको दोष हुतुहरुले तुत्सी संलग्न रुवाण्डा देशभक्त मोर्चा माथि लगाए । तर तुत्सीहरुले आरोप अस्वीकार गरे । आरपीएफले हूतू चरमपन्थीहरुले नै राष्ट्रपतिको हत्या गराएको दावी गरे । 

यही स्रोत नखुलेको ह्ब्यरिमानको हत्याले केही दशक पहिले गरिएको शान्ति सम्झौताको अन्त्य गर्‍यो । र त्यसै दिनदेखि हूतूहरुले अल्पसंख्यक तुत्सीमाथि नरसंहारको चक्र चलाए ।

के थियो पहिलेको शान्ति सम्झौता ?

रुवाण्डाको जनसंख्यामा ८५ प्रतिशत हूतू रहेपनि लामो समयसम्म तुत्सी अल्पसंख्यकहरुले उनीहरुमाथि शासन गरेका थिए । तर सन् १९५९ मा हूतूहरुले तुत्सी राजतन्त्रको अन्त्य गरे । 

योसँगै हजारौं तुत्सीले ज्यान जोगाउन देश छाडे । उनीहरु युगाण्डा र अरु छिमेकी देशमा शरणार्थीका रुपमा रहे । यहीबीचमा निष्काशित तुत्सीहरुले रुवाण्डा देशभक्त मोर्चा नामक विद्रोही संगठन बनाए । 

विश्वभर प्रजातन्त्रको लहर चलेकै समयमा सन् १९९० मा यो समूह रुवाण्डा प्रवेश गर्‍यो र संघर्ष थाल्यो । सन् १९९३ मा एक शान्ति सम्झौतासँगै तीन वर्ष लामो संघर्ष अन्त्यको घोषणा गरियो । शक्ति साझेदारी गर्दै दुबै पक्षका प्रतिनिधि संलग्न सरकार बनाइयो । 

यो सम्झौता अकाजुसहित धेरै अतिवादी हूतूहरुलाई स्वीकार्य थिएन । उनीहरु विदेशी शक्तिको साथ पाएको भरमा रुवाण्डामा शासन गर्न पाएको भन्दै तुत्सीको विरोध गर्दथे । हूतूहरु तुत्सी राजतन्त्र पुनस्र्थापना गर्दै आफूहरुलाई दास बनाउन आएको ठान्दथे । 

तर जब सन् १९९४ अप्रिल ६ को राति तात्कालीन राष्ट्रपति जुभेनल चढेको विमानमाथि आक्रमण गरी उनीसहित सबैको हत्या गरियो त्यसपछि मच्चियो एक सय दिने रक्तरञ्जित जातीय नरसंहार । 

कसरी मच्चाइयो नरसंहार ?

राष्ट्रपतिको हत्या गरिएको भोलिपल्ट नरसंहारको चक्र शुरु गरियो । जसमा सैनिक, प्रहरी र मिलिसिया परिचालन गरिए । उनीहरुले प्रमुख तुत्सी र नरम विचार राख्ने हुतु सैनिक तथा राजनीतिक नेताहरुको हत्या गर्न थाले । 

सन् १९३३ मा बेल्जियम औपनिवेशिक शासकले गरिदिएको जातीय पहिचानसहितको परिचय पत्र हेर्दै तुत्सीहरुमाथि हत्याको चक्र चलाइयो । 

सेनाले हूतूहरुलाई सुरक्षा निकायमा भर्ना हुन र छूरा चक्कु, डण्डाजस्ता हतियारले सज्जित हुन् उर्दी जारी गरे । आफ्ना तुत्सी छिमेकीहरुलाई हत्या, बलात्कात र अंगभंग गर्न उक्साए । जातीय अविश्वासको आगो यतिसम्म बालियो कि हूतूहरुले छिमेकी मात्र होइन, आफ्नै तुत्सी पत्नीदेखि नातेदारसम्मको कत्लेआम गरिदिए । 

शान्ति सम्झौता भंगसँगै आरपीएफले देशभर आक्रामक युद्ध छेड्यो । यसै अवस्थामा युगाण्डामा रहेर सशस्त्र संघर्ष गरिरहेको आरपिएफले रुवाण्डा कब्जा ग¥यो । बीस लाख हूतूले देश छोडेर भागेको बताइन्छ । 

देशको उत्तरी भागलाई नियन्त्रणमा लिएसँगै जुलाईको मध्यमा देशको ८० लाख जनसंख्या मध्ये करीब १० प्रतिशत अर्थात् आठ लाख व्यक्तिको नरसंहारसँगै रक्तपिपासु जातीय संहारको अन्त्य गरियो । विद्रोही आरपिएफले भने पास्टयूर विजिमुंगु राष्ट्रपति र पाउल कागामे उपराष्ट्रपति बनाई हूतूसहितको अन्तरिम सरकार बनायो । तर राष्ट्रपतिले जातीय तटस्थता कायम गर्न नसकेको भन्दै सन् २००० अप्रिलमा पाउल कागामे राष्ट्रपति बने । 

रुवाण्डा द्वन्द्वको पृष्ठभूमि

सन् १८८९ मा जर्मनले त्यहींको राजालाई उपयोग गरी आफ्नो उपनिवेश सञ्चालन गर्न थालेदेखि रुवाण्डा द्वन्द्वको पृष्ठभूमि शुरु भएको मान्निछ । उपनिवेशवादीहरु टाठाबाठा मानिने अल्पसंख्यक तुत्सी जातिलाई मनपराउँथे । उनीहरुले हूतूविरुद्ध तुत्सी प्रयोग गरी शासन गरे । 

तर पहिलो विश्वयुद्धपछि रुवाण्डा जर्मनबाट बेल्जियमको नियन्त्रणमा गयो रउसले प्रत्यक्ष औपनिवेशिक शासन चलाउन थाल्यो । बेल्जियमले पनि जर्मनकै नीति अख्तियार गर्यो । सन् १९३५ मा त उसले हूतू, तुत्सी र तावा जातिमा विभाजन गर्दै परिचय पत्र बाँडिदियो । 

दोश्रो विश्व युद्धपछि भने बहुसंख्यक हूतूहरुले संगठित भई औपनिवेशिक शासक र उनीहरुबाट संरक्षित तुत्सी शासनको विरोध गर्न थाले । जसको परिणाम दुई जाति बीच तनाब शुरु भयो । हूतूको विरोध बढ्दै गएपछि सन् १९६२ मा बेल्जियमले उपनिबेश अन्त्य गर्यो र रुवाण्डा स्वतन्त्र भयो । 

हुतुको शासन स्थापनासँगै तुत्सीप्रति आक्रामक रणनीति लिइयो । परिणाम तुत्सीहरु बुरुण्डी, युगाण्डा, तान्जानिया र कङ्गोमा पलायन हुन बाध्य पारिए । र उनीहरुले विदेशी माटोमै रुवाण्डान पेट्रियोटिक फ्रन्ट नामक संगठन बनाए । त्यसैको नेतृत्वमा सशस्त्र संघर्ष गर्न थाले । हूतूहरुले पनि तुत्सीविरुद्ध झन् बढी अत्याचार थाले । 

यही बेला बहुसंख्यक हूतस्मा चर्किएको शक्ति संघर्षले सन् १९७३ को कु मार्फत जुभेनाल ह्ब्वायरमाना राष्ट्रपति बने । जुन पछि ६ अप्रिल १९९४ मा हवाई आक्रमणमा मारिए । यही झिल्कोबाट मच्चाइयो जातीय नरसंहारको कूचक्र । 

२५ वर्षको अन्तरालमा अहिले कस्तो छ त रुवाण्डा ?

विकासमा फड्को मार्दै गरेको रुवाण्डालाई हिजोआज ‘अफ्रिकाको सिंङ्गापुर’ भनिन थालेको छ । राष्ट्रपति भ्रष्टाचारविरुद्ध कडाईका साथ उभिएकाले रुवाण्डामा भ्रष्टाचार कम भएको मानिन्छ भने शान्ति सुरक्षामा अफ्रिकी महादेशमै इजिप्ट पछि दोश्रो सुरक्षित देश मानिन्छ । (एजेन्सी)

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...