सेवा रोकेर चिकित्सकले बिरामीलाई दुःख दिन पाइन्न : उपप्रधानमन्त्री यादव

news

भरतपुर, चैत २४ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विभिन्न बाहानामा चिकित्सकले बिरामीलाई दुःख दिन नपाउने बताएका छन् ।

आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सकका माग सङ्घीय निजामती ऐनले समेटिसकेकाले जनतालाई दुःख दिन नपाइने बताए ।

‘अरु कुनै महत्वपूर्ण कुरा छ भने त्यसलाई सरकारले सकरात्मक रुपमा लिन्छ,’ उनले भने, ‘तर विभिन्न मागका नाममा बिरामीलाई दुःख दिन जरुरी छैन ।’

समायोजनले चिकित्सकको वृत्तिविकासमा अवरोध सिर्जना हुन्छ, भन्ने भ्रममात्र भएको उनको तर्क छ । ‘वृत्ति विकास सबैको हुन्छ, यसमा सरकारले कसैलाई पनि रोक्दैन,’ उनले भने, ‘यो रोकेर कहाँ चिकित्सा प्रणाली चल्छ ?’

आन्दोलन छाडेर जनताको सेवा र बिरामीको उपचारमा लाग्न उनले चिकित्सकलाई आग्रह गरे ।

चिकित्सकका समस्या सरकारले बुझेको भन्दै उनले चिकित्सकले माग भन्दा पनि सेवालाई आत्मसाथ गर्नुपर्ने धारणा राखे ।

फरक प्रसङ्गमा उनले भने, ‘तोकेको भन्दा बढी शुल्क लिने र दिने दुवै दोषी हुन्, यसको छानबिन हुन्छ ।’ सरकारको मापदण्डअनुसार सबै मेडिकल कलेज चल्नुपर्ने भन्दै उनले यस विषयमा चितवन मेडिकल कलेज प्रशासनसँग पनि कुरा गर्ने प्रतिबद्धता जनाए । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...