भारतीय बिरामीको संख्या घटेपछि गेटा आँखा अस्पताललाई चुनौती

news

-विराज रोस्यारा/ईमेज

कैलाली । केही वर्ष अघिसम्म बिरामीले भरिभराउ भइरहने कैलालीको गेटा आँखा अस्पतालमा पछिल्लो समय बिरामीको संख्या घट्न थालेको छ ।

भारतका सीमावर्ती क्षेत्रमा सुविधासम्पन्न अस्पताल खोलिएसँगै बिरामीको संख्या एकाएक घट्न थालेपछि अस्पतालका अगाडि नयाँ चुनौती देखिएको हो ।

२०३८ सालमा स्थापना भएको कैलालीको गेटा अस्पताल आँखाको उपचारका लागि सस्तो र गुणस्तरीय मानिन्छ ।

तर पछिल्लो भारतीय सीमावर्ती क्षेत्रमै सुविधासम्पन्न अस्पताल संचालन गरेसँगै बिरामीको संख्या कम हुँदै गइरहेको छ ।

पहिले दैनिक ५ सय भन्दा बढी भारतीय बिरामीको आगमन हुने अस्पतालमा अहिले त्यो संख्या घटेर ३ सयको हारहारीमा झरेको छ ।

अस्पतालले स्थापनाकालदेखि हालसम्म ३५ लाख मानिसलाई स्वास्थ्य सेवा प्रदान गरेको छ भने करिब ५ लाख मानिसको अप्रेसन गरेको छ ।

केही बर्षयता भारतीय सेवाग्राहीहरुको संख्या घट्दो क्रममा रहेको गेटा आँखा अस्पतालका प्रशासकीय अधिकृत गोविन्द प्रसाद जोशी बताउँछन् ।

भारतबाट आउने बिरामीबाट उठेको शुल्कबाट सुदुरपश्चिमका पहाडि जिल्लाहरुमा निशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको अस्पताललाई आगामी दिनमा समस्या हुने देखिएको छ ।

अस्पताललाई आर्थिक रुपमा सबल बनाउन अन्य वैकल्पिक उपाय खोज्नुपर्ने नेपाल नेत्र संघका केन्द्रीय उपाध्यक्ष चक्र बहादुर सिंहको सुझाव छ ।

भारतका विभिन्न अस्पतालमा भन्दा यस अस्पतालमा गुणस्तरिय सेवा पाइने भन्दै आउँने विरामीको संख्यामा कमी आएपनि पूर्ण रुपमा रोकिएको भने छैन ।

अन्य धेरै रोगको उपचार नेपालमा सम्भव नभए पनि आँखासम्बन्धी रोगको राम्रो उपचार हुने भएकाले आफूहरु आउने गरेको कतिपय भारतीय  बिरामी बताउँछन् ।

सुदूपश्चिम प्रदेशमा अन्य रोगको उपचारका लागि राम्रो प्रबन्ध नभए पनि आँखा सम्बन्धी धेरै समस्या गेटा आँखा अस्पतालमै समाधान भइरहेको छ ।

यस अस्पताललाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै बिरामीलाई आकर्षित गर्न सम्बन्धित सरोकारवालाले ध्यान दिन आवश्यक छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...