मुलुकभरका सरकारी अस्पताल आज पनि ठप्प

news

काठमाडौं, चैत २५ । सरकारी चिकित्सकको आन्दोलनका कारण मुलुकभरका सरकारी अस्पतालको सेवा आज पनि प्रभावित भएको छ ।

गत शुक्रबारदेखि सेवा बहिस्कार गरी अनिश्चितकालिन आन्दोलन थालेका सरकारी चिकित्सकहरुका कारण बिरामी मर्कामा परेका छन् । संघीय सरकारले गरेको कर्मचारी समायोजनको विरोधमा सरकारी चिकित्सक संघ (गोदान) ले गरेको आह्वानअनुसार चिकित्सकहरुले सेवा बहिस्कार गर्दै आएका छन् ।

सरकारी चिकित्सकको आन्दोलनका कारण ७७ जिल्लाका जिल्ला अस्पताल, १० अञ्चल अस्पताल, ४ वटा क्षेत्रीय र उपक्षेत्रीय तथा ५ वटा केन्द्रीय अस्पतालको सेवा प्रभावित बनेको छ । देशभर झन्डै १ हजार ४ सय सरकारी चिकित्सक छन् ।

माग सम्बोधनका लागि सरकारले पहल नगरेको भन्दै चिकित्सकले आन्दोलनका थप कार्यक्रम ल्याउने चेतावनी दिँदै आएका छन् । काम नै बहिस्कार गरेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि मुलुकभरका अस्वतालमा उपचार सेवा प्रभावित भएको छ भने हजारौं बिरामी मर्कामा परेका छन् ।

सरकारी चिकित्सकले आफूहरुका माग सम्बोधन नगरे सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएका छन् । सरकारी चिकित्सक संघ गोदानले चिकित्सकको अवमूल्यन हुने र स्वास्थ्यसेवा दिन हतोत्साहित पार्ने समायोजन नसच्याइए राजीनामाको विकल्प नभएको जनाएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...