बर्षौंदेखि अलपत्र मेची रंगशाला भब्य र सुविधासम्पन्न बन्दै(भिडियो)

news

-रवीन भट्टराई/ ईमेज

झापा । जिल्ला खेलकुद विकास समितिले नयाँ नेतृत्व पाएसँगै लामो समयदेखि अलपत्र झापाको मेची रंगशालाको पुनर्निर्माण सुरु भएको छ ।

अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता संचालन हुने रंगशाला जीर्ण बनेका कारण समस्या भएपछि पुनर्निर्माण सुरु गरिएको हो ।

कुनै समय झापाको भद्रपुरस्थित मेची रंगशालामा थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरु सञ्चालन हुन्थे ।

तर पछिल्लो समय संरक्षण, स्तरोन्नति र व्यवस्थापनमा बेवास्ता गर्न थालेपछि रंगशाला गुमनामजस्तै बनेको छ ।

सरकारी पक्षले चासो नदिनु र अरु जिम्मेबार पक्षले पनि वास्ता नगर्दा अलपत्र बनेको रंगशालाले अहिले भने मुहार परिवर्तन गर्दैछ ।

जिल्ला खेलकुद विकास समितिमा नयाँ पदाधिकारीको बहाली भएपछि रंगशाला स्तरोन्नति र मर्मत् सम्भारको लागि चासो देखाएको छ ।

रंगशाला व्यवस्थित नहुँदा  विभिन्न किसिमका खेल प्रतियोगिता आयोजना गर्न समेत समस्या भएको जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापा बताउँछन् ।

रंगशालामा माटो भर्ने र लेभलिङको काम सकेर मैदान र प्याराफिट निमार्णको काम भइरहेको छ ।

स्थापनाकालदेखि नै उपेक्षामा परेको रंगशाला पुननिर्माणका  लागि केही समय अघि राष्ट्रिय खेलकुद परिषद्बाट ४५ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो ।

त्यहीँ रकमबाट रंगशाला व्यवस्थित गर्ने काम चलिरहेको छ । करिब ४ वर्षअघिको विनाशकारी भूकम्पले थप क्षतविक्षत बनेको रंगशालामा मैदान मिलाउने, प्याराफिट निर्माण गर्नेदेखि कबड हल निर्माण गर्नेसम्मको योजना रहेको अध्यक्ष थापाको भनाइ छ ।

अन्तराष्ट्रिय मापदण्ड पुगेको रंगशाला हुँदाहुँदै पनि सदुपयोग गर्न नजान्दा जिल्लामा आयोजित सानाठूला खेलकुद प्रतियोगितामा निकै अप्ठ्यारो भइरहको थियो ।

अरु रंगशालालको तुलनामा बेग्लै भएकाले यसको पुननिर्माण गर्न थालेपछि खेलाडी र खेलप्रेमीले आभार व्यक्त गरेका छन् । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...