११ महिना बित्यो नेकपाको एकता अनिश्चितः नेपाललाई मिलाउन अध्यक्षद्वयलाई हम्मे(भिडियो)

news

-अक्कल कुँवर/ईमेज

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु पार्टी एकताका बाँकी काम टुङ्गो लगाउन पछिल्लो केहि दिनयता सक्रिय छन् ।

तीन महिनाभित्र गरिसक्ने भनिएको सांगठनिक एकता एकीकरणको ११ महिना बितिसक्दा पनि टुङ्गो लाग्न नसकेपछि पार्टीभित्रैबाट तिव्र आलोचना खेपिरहेका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको सक्रियता बढेको हो ।

वैशाख ९ गतेभित्रै एकताका बाँकी काम टुङ्गो लगाउने गरी उनीहरुले असन्तुष्ट पक्षसंगको छलफललाई तिव्रता दिएका छन् ।

गत फागुन ३० गते पार्टीका प्रभावशाली नेताहरु माधवकुमार नेपाल,झलनाथ खनाल र वामदेव गौतमसंग छलफल गरेका नेकपा अध्यक्षद्वय ओली र दाहालले त्यसपछि पनि सचिवालय सदस्यहरुसंग पटक–पटक औपचारिक र अनौपचारिक छलफल गरे ।

तर छलफलबाट सहमति जुट्न नसकेपछि गत बिहिबार चन्दागिरीमा अध्यक्षद्धय,महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापाबीच आवासीय छलफल भयो ।

बाँकी रहेका सांगठनिक एकताका अधिकांश विषय टुङ्गो लागेको भनिएको छलफलपछि अध्यक्षद्धयको सोमबार बरिष्ठ नेता माधवकुमार नेपालसंग दुई चरणमा छलफल भयो ।

छलफलमा नेता नेपालले सचिवालय बैठकले बनाएको विधि,प्रक्रिया र मापदण्ड अनुसार सांगठनिक एकता टुङ्गो लगाउनुपर्ने अडान दोहार्‍याए ।

अध्यक्षद्वयले सबैपक्षलाई समेट्न सहमतिको प्रयास गर्ने तर सहमति जुट्न नसकेपनि बैशाख ९ गतेभित्र एकताका बाँकी विषय टुङ्गो लगाउने तयारी गरेका छन् ।

अध्यक्षद्धयले आफुहरुलाई पेलेर अगाडी बढ्न सक्ने आशंका गर्दै नेपाल पक्षले नियतवश मापदण्ड, प्रक्रिया, विधि विपरित निर्णय गर्ने प्रयास भए परिणाम नराम्रो हुने चेतावनी दिएको छ ।

७७ जिल्लामध्ये एकताका क्रममा ४५ पूर्व एमाले र ३२ जिल्लाको अध्यक्ष पूर्व माओवादी केन्द्रले लिने गरी भागबण्डामा अध्यक्षद्वयबीच सहमति भइसकेको छ ।

तर नेपाल पक्ष भने जिल्ला र मातहतका कमिटीहरु एकीकरण गर्दा बरिष्ठता,योग्यता,क्षमता र योगदानलाई प्राथमिकता दिनुपर्ने अडानमा छ ।

नेकपामा अहिलेसम्म सचिवालय, स्थायी कमिटी,केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्रै गठन हुन सकेको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विवाद पनि कायमै छ ।

केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट,पोलिटब्युरो गठन,विभाग,जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीको एकता प्रक्रिया टुङ्गो लाग्न सकेको छैन् ।

गत वर्ष जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...