देशभरका पत्रकारहरु आन्दोलित, जिल्ला प्रशासन कार्यालय गेटमा धर्ना

news

काठमाडौं । पत्रकारहरुले देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोधस्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा आज धर्ना दिएका हुन् ।

नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको अगुवाइमा पत्रकारहरुले जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिएका हुन् ।

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी भएकाले यसलाई सच्याउनु पर्ने माग पत्रकारहरुको छ । ठगीको समाचार लेखेको अभियोगमा पत्रकार गिरी सोमबार साइबर क्राइमअन्तर्गत पक्राउ परेका थिए ।

बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा उनलाई केन्द्रीय अनुसन्धान विभाग (सीईबी)ले पक्राउ गरेको हो ।

उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ ।

तर, पत्रकार महासंघलगायतले यसलाई प्रेस स्वतन्त्रताविरुद्ध भएको भन्दै गल्ती सच्याउन माग गरेका छन् ।

दबावका लागि आज देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको महासंघले थप संघर्षका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ ।

पत्रकारहरुले विद्युतीय कारोबार ऐनका दफा ४७ र ४८ खारेजीको माग राखेका छन् ।  

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...